बर्दियामा प्रेसर कुकर बम, बन्दको आंशिक प्रभाव

0

नेपालगञ्ज – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको क्रममा बर्दियाका दुई ठाउँमा बम फेला परेको छ । सदरमुकाम गुलरियास्थित डिभिजन वन कार्यालय नजिक र पूर्व–पश्चिम हाइवेमा प्रेसर कुकर बम भेटिएको हो ।

गुलरियाको मुख्यचोकबाट करिब दुई किलोमिटर पश्चिममा रहेको वन कार्यालय अगाडि र हाइवेमा राखिएको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । गुलरियामा राखिएको प्रेसर कुकरमा विष्फोटक पदार्थ रहेपनि हाइवेमा राखिएको कुकरमा माटो राखिएको थियो । सदरमुकाममै बम राखेपछि गुलरिया बासिन्दा त्रसित भएका छन् ।

बन्दका कारण स्थानीय जनजीवनमा आंशिक प्रभाव पारेको छ । नेपालगञ्जबाट लामो दूरीका सवारी साधन चलेका छैनन् । छोटो दूरीका साना सवारी साधन भने चलेका छन् । विद्यालय बन्द भएका छन् । बजार र कलकारखानामा आंशिक प्रभाव परेको छ ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जिल्लामा कुनै प्रकारको अप्रिय घटना नभएको बताएका छन् । नेपालगञ्ज बजारमा अरुबेलामा भन्दा सुरक्षाकर्मी बढाइएको छ । चोकचोकमा नेपाल र सशस्त्र प्रहरीको तैनाथी रहेको छ ।

Leave A Reply

Your email address will not be published.