प्रदेश ५ को बजेट बहुमतले पारित

0

बुटवल – प्रदेश ५ को बजेट बहुमतले पारित भएको छ। असार १ गते मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेका थिए ।

एकसाताको छलफलपछि बजेट बहुमतले पारित भएको थियो। विनियोजन विधेयक सर्वसम्मत पारित भए पनि अर्थ विधेयक बहुमतबाट पारित भएको हो।प्रमुख विपक्षी दल कांग्रेसले बजेटमा असहमति जनाउदै विधेयकको विपक्षमा मत दिएको हो ।

आगामी वर्षको बजेटमा पूँजीगततर्फ ५१ प्रतिशत अर्थात १८ अर्ब ५७ करोड ६४ लाख रहेको छ। चालु तर्फ ३७ प्रतिशत अर्थात १३ अर्ब ४५ करोड ५ लाख बजेट बिनियोजन भएको छ । वित्तिय हस्तान्तरण तर्फ स्थानीय तहका लागि ४ अर्ब ३८ करोड ९८ लाख बिनियोजन भएको छ । यो कुल बजेटको १२ प्रतिशत हो ।

संसदमा उठेका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले बजेटले कुनै पनि करको दर बृद्धि नगरेको बताए । कर बृद्धि नगरी दायरामात्रै बढाएर गत आर्थिक वर्षभन्दा झण्डै दोब्बरले आन्तरिक राजश्व संकलनको लक्ष्य लिइएको बताए । उनले जग्गा नामसारी, सवारी करमा बृद्धि नगरिएको भन्दै करकै कारण मूल्यबृद्धि नहुने जिकिर गरे ।

उनले आगामी वर्ष पर्यटकीय क्षेत्रमा अनिवार्य टिकटको व्यवस्था गर्ने र मनोरञ्जन करलाई व्यवस्थित गर्दै लगिने बताए । प्रदेशले पाउने घरजग्गा रजिष्ट्रेसन शुल्क स्थानीय तहमा हस्तान्तरण हुन नसकेको भन्दै विभाज्य कोषलाई व्यवस्थित गर्न जरुरी रहेको उनले बताए ।

बजेटमाथि छलफलका क्रममा प्रतिपक्षले पहुचका भरमा बजेट बनाइएको भन्दै त्यसले सबै क्षेत्रलाई समेट्न नसकेको आरोप लगाएको थियो ।

Leave A Reply

Your email address will not be published.