नेपाल र बङ्गलादेशबीच जलविद्युत् आयोजनामा लगानी गर्ने सहमति

0

काठमाडौँ – नेपाल र बङ्गलादेशले संयुक्त रुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् ।

शुक्रबार ढाकामा सम्पन्न दुई देशका ऊर्जा सचिवको संयुक्त बैठकले सरकारले २०७५ वैशाखमा जारी गरेको श्वेतपत्रमा समावेश गरिएका आयोजनामध्ये सम्भाव्य आयोजनामा संयुक्त लगानी गर्ने र त्यसका लागि विभिन्न ढाँचाको खोजी गर्ने सहमति जनाएका हुन् । मन्त्रालयले सातवटै प्रदेशमा रहने गरी केही ठूला आयोजना अगाडि बढाउने कार्यक्रमलाई श्वेतपत्रमा समावेश गरेको छ ।

श्वेतपत्रमा ७६२ मेगावाट क्षमताको तमोर जलाशय, ८०० मेगावाट क्षमताको दूधकोशी जलाशयुक्त आयोजना, माथिल्लो अरुण ७२५ मेगावाट, किमाथाङ्का अरुण ४५० मेगावाट, तल्लो अरुण ६७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्ने उल्लेख गरेको छ ।

यस्तै सुनकोशी दोस्रो एक हजार ११०, सुनकोशी तेस्रो ५३६, तामाकोशी पाँचौं १०१, खिम्ती शिवालय ५०० मेगावाट र कोखाजोर जलाशयुक्त आयोजना १११ मेगावाट क्षमताका आयोजना अगाडि बढाउने विषय श्वेतपत्रमा समावेश छ ।

श्वेतपत्रमा २० वटा जलविद्युत् आयोजना अगाडि बढाउने उल्लेख छ । ती आयोजना मध्ये आकर्षक र उपयुक्त आयोजना छनोट गरी अगाडि बढाउने र प्राविधिक रुपमा आवश्यक तयारी गरी आगामी बैठकमा पेश गर्ने सहमति भएको छ । बैठकमा नेपालका तर्फबाट नेतृत्व गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार नेपालमा जलविद्युतमा लगानी गर्ने, बङ्गलादेश विद्युत् निर्यात गर्ने र दुवै देशबीच वैकल्पिक ऊर्जामा सहकार्य गर्ने सहमति भएको छ ।

बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् लग्ने नीति तय गरेको छ । नेपालको ऊर्जालाई बङ्गलादेशसम्म पुर्याउन प्रशारणलाइन निर्माण, परियोजनाको छनोट र वैकल्पिक ऊर्जामा सहकार्यबारे निर्णय भएको उनको भनाइ छ । आगामी तीन महीनाभित्र प्राथमिकीकरणका आधारमा परियोजना छनोटसहितको प्रतिवेदन ‘ज्वाइन्ट स्टेरिङ कमिटी’ मा पेश गरिनेछ । नेपालको निजी क्षेत्रसँग पनि मिलेर बङ्गलादेशका लगानीकर्ता लगानी गर्न तयार देखिएका छन् । 

रासस

Leave A Reply

Your email address will not be published.