प्रधानमन्त्रीको निर्देशनपछि अस्पतालको शैय्यामा रेशमको नेल खोलियो

0

काठमाडाैँ – उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका राजपाका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा बाँधिएको नेल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा हटाइको छ।

बिहीबार अस्पताल भर्ना भएका रेशमलाई प्रहरीले सुरक्षाको कारण देखाउदै शैय्यामै फलामे नेल र हत्कडीले बाँधेर राखेको थियो। माथिको आदेश भन्दै नेल हटाइएको रेशमका भाइ मिथुलालले बताए ।

सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा रेशमलाई नेलले बाँधिएको तस्बिर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले चासो देखाएका हुन् । प्रधानमन्त्री ओलीले रेशमलाई अस्पतालको बेडमै नेलले बाँधेर राख्नेलाई कारबाही गर्न समेत निर्देशन दिएका छन् ।

उनका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन मार्फत चौधरीलाई सिक्रीले बाँध्न आदेश दिनेलाई कारबाही गर्न निर्देशन दिएका हुन् । टीकापुर हत्याकाण्डको घटनामा कैद भुक्तान गरिरहेका निलम्बित सांसद चौधरीलाई उपचारका क्रममा नेल र हत्कडीले बाँधेर राखिएपछि विरोध भएको थियो ।

यो घटनामा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा आपत्ति जनाएका थिए। सामाजिक सञ्जालमार्फत भट्टराईले यो घटना कति ‘मानवोचित र विधिसम्मत’ हो भनेर प्रश्न पनि गरेका छन् । २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ प्रहरी र एक नाबालकको निर्मम हत्या भएको थियो ।

सो घटनापछि फरार रेशमले फरार रहेकै अवस्थामा टीकापुरमा प्रतिनिधिसभाको निर्वाचन अत्यधिक बहुमतका साथ जितेका थिए । चुनाव जितेको लामो समयपछि अदालतमा उपस्थित भएका उनलाई थुनामै रहेको अवस्थामा सांसद पदको शपथ खुवाइएको थियो ।

तर कैलाली जिल्ला अदालतले टीकापुर हत्याकाण्डको घटनामा रेशमलाई दोषी ठहर गर्दै जन्मकैद सुनाएपछि उनी कैद भुक्तान गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.