गुठी प्रथालाई सामन्ती नभनेको मन्त्री बास्कोटाको जिकिर

0

काठमाडौँ – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गुठी प्रथालाई आफूले सामन्ती नभनेको दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले नबोलेको कुरामा तिललाई पहाड बनाउने काम भएको जिकिर गरे ।

मन्त्री बास्कोटाले केही दिनअघि सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुठी वियेधकबार चर्केको आन्दोलन बारेमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै सामन्तवादको अन्त्य गर्ने कि नगर्ने भनेर उल्टै प्रश्न गरेका थिए ।
त्यसपछि गुठीयारको आन्दोलन झनै बढेको थियो ।

तर आज प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री बास्कोटाले आरोप लगाउन पाइने तर पुष्टि गर्न गाह्रो हुने बताए ।

‘जनसागर उठ्यो सामन्ती भन्यो । आरोप लगाइरहन पाइन्छ पुष्टि गर्न गाह्रो छ । पानी धमिल्याएर माछा मार्ने काम नगर्नुहोला । पुष्टि गर्नुभयो भने त्यही बेला बहस गरौँला । नबोलेको कुरा तिललाई पहाड बनाउने ? । आफूले आखा चिम्लिँदा संसारलाई अध्यारो नदेखौँ । आफूले आँखा चिम्लिँदा अरुले आँखा देखेको हुनसक्छ’, मन्त्री बास्कोटाले भने ।

उनले मिडिया काउन्सिलको विधेयकबारे उठेका सकारात्मक कुरा सम्बोधन गर्ने बताए । ‘आग्रह भनेका बेग्लै हुन् । हामीलाई कसैले प्रेस स्वतन्त्रताको सिकारीको उपमा दिएको छैन । त्यो भोग्न पनि नपरोस् । तर सकारात्मक कुराहरु सम्बोधन हुन्छ’, उनले भने ।

‘मिडियाका लागि डाटा सेन्टरको माग भएको छ । तर, सरकारसँग यसको बजेट छैन । मिडियाले आफैँले बनाउनुपर्छ किनकी यी उद्योग हुन् । सरकारी लगानीका सञ्चारमाध्यममा पनि आफ्नै लगानीमा डाटा सेन्टर बनाइरहेका छन्’, मन्त्री बास्कोटाले भने ।

लोक कल्याणकारी विज्ञापनमा विभेद भए प्रमाण दिन उनले आग्रह गरे ।

‘विज्ञापनबाट राजनीतिक दलको प्रचार नहोस् भन्ने व्यवस्था हामीले विज्ञापन कानुनमा गरेका छौँ । नागरिक स्वास्थ्यमा असर पार्ने कुरालाई विज्ञापनमा रोक्न माग भएको छ । यसमा हामीले चेतावनीयुक्त चित्र वा तस्विर राख्नुपर्ने भनेका छौँ । श्रमजीवी पत्रकारको कार्यान्वयनबारे यहाँ एउटा र बाहिर अर्को कुरा नगरिदिनुस् । कानुनी व्यवस्था भइसकेको छ । आमसञ्चार ऐन आउने चरणमा छ । हुन त यहाँ आउनुभन्दा अघि नै पुल्ठो झोस्ने काम हुन्छ । यस्ता विषयमा कन्टेन्टमा पसेर हामी बहस गर्राैँ’, बास्कोटाले आग्रह गरे ।

‘मिडिया नियमनमा अम्बुड्सम्यान राख भनिएको छ । बारम्बार मिडियामा सरकारमाथि सरकार नेगेटिभ भनिएको छ । ०५८ पछि मिडिया क्षेत्रप्रति अवस्था कस्तो थियो । ०५८ पछि अन्तर्राष्ट्रिय क्षेत्रले पत्रकारका लागि कारागार भन्दा को थियो ? स्वतन्त्रताको मसिहा कबनिरहनु आवश्यक छैन । १५ सालमा मणिराज उपाध्यायको पत्रिकालाई लोक कल्याणकारी विज्ञापन दिइएको थिएन । आफ्नो पनि इतिहास हेरौँ । हाम्रो स्पष्ट नीति छ । लोकतन्त्र र स्वतन्त्र प्रेस कुनै मुद्दा छैन । अरु मुद्दा सकिएपछि परालको त्यान्द्रो समातोर माथि पुग्ने कुरा नगरौँ । बोल्दै नबोलेका कुरामा डिमोरलाइज गर्ने र राजनीतिक दृष्टिकोणमाथि प्रहार गर्ने कुरा राम्रो हैन ।
स्वतन्त्रता र लोकतन्त्रकको पक्षमा को हो व्यवहारबाट जाँचौँ’, उनले भने ।

मन्त्री बास्कोटाले दूरसञ्चारको समस्या समाधानका लागि बिटिएस धमाधम जडान भइरहेको जानकारी दिए ।

फोरजीको साइटको काम ९८ प्रतिशत भइसकेको बताएका मन्त्री बास्कोटाले फाइभजीको चार वटा शहरमा परीक्षण गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.