फेसबुकको डिजिटल मुद्रा रोक्न अमेरिकी सांसदको आग्रह

0


बिबिसि – एक अमेरिकी सांसदले फेसबुकले घोषणा गरेको लिब्रा नामक डिजिटल मुद्राको योजना हाललाई रोक्न भनेकी छन्।

आगामी वर्षदेखि सुरु गर्ने तयारी गरिएको लिब्रामार्फत् मानिसहरूले फेसबुकको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्ने बताइएको छ।

तर अमेरिकी संसदको फाइनान्सियल सर्भिसेस् कमिटिकी अध्यक्षले अमेरिकी संसदले सो परियोजना अध्ययन नगरेसम्म फेसबुकले कुर्नुपर्ने बताएकी छन्।

“कम्पनीको समस्याग्रस्त इतिहास हेरेर म फेसबुकलाई कङ्ग्रेस र नियामकहरूले अध्ययन गर्ने मौका नपाएसम्म डिजिटल मुद्रा विकास गर्ने काम रोक्न अनुरोध गरेकी छु,” डेमोक्र्याट संसद म्याक्सिन वाटर्सले बताइन्।

फेसबुकले ल्याउन लागेको डिजिटल मुद्रा

फेसबुकले नीतिनिर्माताहरूको प्रश्नमा स्पष्टिकरण दिन तयार रहेको बताएको छ।

वाटर्सले आफ्नो कमिटिको अगाडि स्पष्टिकरण दिन फेसबुकलाई आग्रह गरेकी छन्।

अर्का अमेरिकी सांसद शेर्रोड ब्राउनले आफूलाई फेसबुक धेरै ठूलो र शक्तिशाली हुन थालेको लागेको बताएका छन्।

“हामी फेसबुकलाई बिना सुपरिवेक्षण स्वीस बैंकबाट नयाँ खतरनाक डिजिटल मुद्रा चलाउन अनुमति दिन सक्दैनौँ,” उनले एक विज्ञप्तिमा भनेका छन्।

फेसबुकका अनुसार इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने सबैले लिब्रा प्रयोग गर्न सक्नेछन्।

जनचासोको विषय

मानिसहरूले पैसाको बचत, लेनदेन र खर्च मोबाइलमा मेसेज पठाए जसरी नै सहज तरिकाले गर्न सकुन् भन्ने आफूहरूले चाहेको फेसबुकले बताएको छ।

डिजिटल मुद्रा अस्थिर हुनसक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्।

फेसबुकले भने अहिले प्रयोगमा रहेका बिटक्वाइन जस्ता डिजिटल मुद्राका अनुभवबाट सिक्दै लिब्रालाई परिष्कृत गरिने बताएको छ।

त्यसलाई स्वतन्त्र रूपमा व्यवस्थापन गरिने र वास्तविक सम्पत्तिसँग जोड्ने उसको योजना छ।फेसबुकको बजार

गुगल पे, एपल पे र सामसङ् पे जस्ता भुक्तानी सेवा बजारमा आइसकेको अवस्थामा फेसबुकको त्यस्तो भुक्तानी सेवासम्बन्धी योजना बाहिर आएको हो।

फेसबुकले भनेको छ- “कालान्तरमा हामीले मानिस र व्यवसायलाई थप सेवाहरू दिने अपेक्षा राखेका छौं। जस्तो: एउटा बटन थिचेर बिल तिर्ने, कोडको स्क्यान गरेर कफी पिउने अथवा नोट नबोकिकनै सार्वजनिक यातायात वा रेल चढ्ने।”

भुक्तान गर्न ‘न्यूनदेखि शून्य’ खर्च हुने बताइएको छ।

फेसबुकले लिब्रालाई खासमा ब्याङ्क खाता नहुने विश्वभरका १.७ अर्ब युवाहरूलाई लक्षित गरिएको बताएको छ।

यस्तो मुद्रा विश्वव्यापी हुने र लिब्रा प्रयोग हुने एप्स र सेवा सम्बन्धित देशका नियम कानुनसँग जोडिने बताइएको छ।

डिजिटल मुद्राको बजारमा जान लागेको यो फेसबुकको पहिलो अभ्यास भने होइन।

एक दशकअघि नै उसले ‘फेसबुक क्रेडिट्स’ सुरु गरेको थियो जसले सामाजिक सञ्जालहरूमा एप्समार्फत सामग्रीहरू किन्न सघाउँथ्यो।

यद्यपि फेसबुकले उक्त काम खासै सफल नभएपछि दुई वर्षभन्दा कम समयमै बन्द गर्‍यो।

Leave A Reply

Your email address will not be published.