काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

0

काठमाण्डौ – महानगरपालिकाले बिहीबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रममा महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने सडकको मर्मतसम्भारका लागि ‘स्पेशल टास्क फोर्स’ गठन गर्ने उल्लेख छ ।

काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न चौतर्फी दवाव आईरहेका बेला महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भारका लागि ‘स्पेशल टाक्स फोर्स’ निर्माण गरी परिचालन गर्ने नीति सार्वजनिक गरेको हो ।

बिहीबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षदेखि विद्युतीय बस सेवा संचालनमा ल्याउने घोषणा गरेका छन् ।

वायुमण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। मेयर शाक्यले सहरी यातायात व्यवस्थापन नीति अन्तर्गत काठमाडौंको सम्भाव्यता देखिएका स्थानहरुको पहिचान गरी साईकल लेन बनाउने नीति पनि अघि सारिएको बताए ।

यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाक्यले आगामी आर्थिक वर्ष भित्र काठमाडौँमा पर्यटन प्रवर्द्धनका लागि विश्व सम्पदा सूचिमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भु, बौद्ध र पशुपतिनाथ क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास हुने गरी विशेष कार्यको थालनी गर्ने बताए ।

नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुको सम्मानका लागि ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुको योगदानलाई सम्मान गर्न ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ कार्यक्रम संचालन गर्ने पनि पनि उल्लेख गरिएको छ ।

यस्तै मेयर शाक्यले प्रधानमन्त्रीको रुपमा मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरुलाई गरेको सम्मान र प्रजातन्त्रका लागि सिंहले पुर्‍याएको योगदानको उचित कदर गर्दै सो सम्मान कार्यक्रम पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।

नीति तथा कार्यक्रममा काठमाडौंमा उज्यालोको अभाव हुन नदिन ‘मेयर उज्यालो’ कार्यक्रम पनि राखिएको छ। त्यसैगरी सूचना तथा संचार नीति अन्तर्गत निःशुल्क वाईफाई सेवा संचालनको कामलाई विस्तार गर्ने, काठमाडौं महानगरपालिकाको आफ्नै लगानीमा मेट्रो टेलिभिजन स्थापना गरि संचालन ल्याउने कार्यक्रम पनि तय गरिएको छ ।

मेयर शाक्यले महानगरपालिकाद्वारा संचालित मेट्रो एफएमलाई प्रभावकारी बनाउने नीति तय गरिएको पनि बताए । काठमाडौंलाई प्रदुषणमुक्त बनाउन फोहोर पानीलाई प्रशोधन गर्न उचित व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.