उत्तर कोरिया पुगे चीनका राष्ट्रपति

0

एजेन्सी – चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया पुगेका छन् । सन् २००५ यता कुनै चिनियाँ शीर्ष नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हो ।

सन् २०१२ मा सत्तामा आएका सी पहिलोपटक उत्तर कोरिया गएका हुन् । सी र उत्तर कोरियाका नेता किम जोङ–उनबिच अहिलेसम्म चारपटक औपचारिक भेट भएका छन्, ती सबै भेट चीनमा भएका हुन् ।

उत्तर कोरिया भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाका नेताबिचको भेटवार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रम तथा वित्तिय मुद्दामा छलफल हुनेछ । उत्तर कोरियाका लागि चीन अति महत्वपूर्ण छ, उत्तर कोरियाको महत्वपूर्ण व्यवसायिक साझेदार हो चीन ।

गएको फेब्रुअरीमा हानोइमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबिचको वार्तामा सहमति नजुटेपछि सीले पहिलोपटक किमलाई भेट्न लागेका हुन् । उत्तर कोरियाको परमाणु निशस्त्रिकरणका सम्बन्धमा कुनै सहमति नै नगरी ट्रम्प–किम वार्ता टुंगिएको थयो ।

यस्तो परिवेशमा हुन लागेको सीको उत्तर कोरिया भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भ्रमणको अघिल्लो दिन बुधबार चीनका राष्ट्रपति सी जिनपिङले चीनको साथ र सहयोग उत्तर कोरियासँग रहेको बताएका थिए । उत्तर कोरियाको राष्ट्रिय पत्रिका रोडोङ सिन्मुनमा प्रकाशित भएको ओप–एडमा राष्ट्रपति सीले उत्तर कोरियाको सही दिशाका लागि चीनको साथ रहने उल्लेख गरेका हुन् ।

कोरियाली प्रायद्विपमा जारी तनाव राजनीतिक या कूटनीतिक रुपमा समाधान गर्नका लागि चीनले सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गरेका छन् । जापानमा अर्को हप्ता हुने जी–ट्वेन्टी सम्मेलन पूर्व सीले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । जापानमा हुने सम्मेलनमा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने अपेक्षा छ ।

Leave A Reply

Your email address will not be published.