पुर्व बाल लडाकु अध्यक्ष बिष्ट स्वदेश फर्कदैं

0

काठमाडौ – नेदरल्यान्ड सरकारको निमन्त्रणा र ब्यबस्थापनमा ३ महिने लामो युरोप भ्रमणमा निस्किएका पुर्व बाल लडाकु अध्यक्ष लेनिन बिष्ट शनिबार स्वदेश फर्किदैं छन् । 


बाल सेनाको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने उदेश्य सहित युरोप पुगेका उनले बाल सेनाको हालको अवस्था, कानुनी सहयोग र आगामी कार्ययोजनाका बारेमा संयुक्त राष्ट्रसंघ सहित अन्तर्राष्ट्रिय मानवअधिकार संघ संस्थाका पदाधिकारी सहित अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो चासोका क्षेत्र र उनिहरुबाट चाहेको सहयोगको सम्बन्धमा समेत आफ्नो स्पष्ट धारणा राखेका छन् । 


करीब ३ महिने युरोप बसाईका क्रममा नेदरल्यान्ड सहित जर्मन, फ्रान्स, स्वीजरल्याण्ड तथा बेल्जियमका सरकारी अधिकारी सहित युरोपका दर्जन भन्दा बढी बिश्वबिद्धालयमा समेत आफ्नो धारणा प्रस्तुत गर्दै उनिहरुबाट सामुहिक सहयोगको लागि समेत अपिल गरेका थिए । 


प्रधानमन्त्रीको युरोप भ्रमणको पुर्वसन्ध्यामा जेनेभामा उजुरी दर्ता गर्न सफल बिष्टले फ्रान्समा पनि प्रधानमन्त्रीलाई पछ्याउँदै आफ्ना कुरा राख्न पुगेका थिए । संक्रमणकालीन न्यायीक प्रक्रिया टुंगोमा पुर्‍याउन नेपाल सरकार ईमानदार नदेखिएको आरोप लगाईरहेका पश्चिमा मुलुक भ्रमण गरेर फर्किन लागेका बिष्टको युरोप भ्रमणको नेपालमा कस्तो असर पर्ने हो त्यो आगामी दिनले नै तय गर्नेछ । 


बिष्टको युरोप भ्रमणबाट सशंकित बनेको सत्ताधारी (खासगरी पुर्व माओवादी) नेकपाका केही प्रभावशाली नेताहरुले सरकार समक्ष बिष्टलाई प्रकाउ गरि कार्वाही गर्नुपर्ने कुरा उठाएकोले पनि बिष्टको स्वदेश आगमनको कुराले राजनैतिक बृतमा खास अर्थ राख्ने देखीएको छ । यसअघि थाइल्यान्ड भ्रमणमा जान बाट रोकेर सर्वत्र आलोचित बनेको सरकारले बिष्टलाई कुनै बहानामा पक्राउ पनि हुनसक्ने केही जानकारहरुको बुझाई भएपनी थाइल्यान्ड प्रकरण बाट ब्याक फुटमा धकेलिएको सरकारले त्यसो गर्ने सम्भावना भने कम देखिन्छ ।


यस बिषयमा कुरा गर्दा बाल लडाकु बिष्टले भने आफू जस्तोसुकै परीस्थितिको सामना गर्न तैयार रहेको र आफु कसैको दबाब वा प्रभावमा नभएर आफू र आफुजस्तै बाल सैन्यको अधिकारको लागि युरोप आएको र सरकार आफ्नो प्रतिबद्धता बाट पछि हटेकोले सरकारलाई दबाब दिन आफुहरुको अभियान अन्तर्राष्ट्रियकरण गर्न आफू युरोप आउनुपरेको उल्लेख गर्दै आफू कसैका विरुद्ध परिचालित नभएको स्पष्ट पारे । 

Leave A Reply

Your email address will not be published.