गुठी विधेयकले संस्कृतिमा धक्का लागेको भए सुधार हुन्छ : प्रधानमन्त्री

0

काठमाडौँ – साताव्यापी युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीका नाममा कतिपय ठाउँमा शोषण भएको बताएका छन् ।

आइतबार बिहान काठमाडौँ ओर्लिएपछि प्रधानमन्त्री ओलीले गुठी विधेयकले संस्कृतिमा केही धक्का पुगेको भए सुधार गर्न सरकार तयार रहेको पनि बताए । उनले भने, ‘यो जनताको सरकार हो र उनीहरुकै इच्छा र चाहना अनुसार काम हुन्छ । जनतालाई हामी भगवान मान्छौँ । कुनै पनि काम सतप्रतिशत हुँदैन, सुधार गर्नु पर्ने भए सरकार त्यसका लागि तयार छ ।’

तर प्रधानमन्त्री ओलीले अहिलेको समय आन्दोलन र उत्तेजनाको भने नरहेको बताए । उनले भने, ‘यो समय सहयोग र सहकार्यको हो । सानातिना कुरामा अल्झनु राम्रो हैन । केही मानिसले चान्स पाएँ भनेका होलान् त्यो पाउने छैनन् ।’

प्रधानमन्त्री ओलीले सरकारले सांस्कृतिक कलाको संरक्षण गर्ने बताए । उनले भने, ‘म आइसकेको छु, सबै कुरा हेरिने छ। रीतिरिवाज र धर्म तथा संस्कृतिका कुरामा जानेर–नजानेर कमजोरी भएको रहेछ भने सच्याउन तयार हुनेछौँ । कसैले चान्स पाउने छैन सरकारको विराेध गर्न।’ प्रधानमन्त्री ओली गएको जेठ २५ गते युरोप भ्रमणमा गएका थिए ।

Leave A Reply

Your email address will not be published.