पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

0

काठमाडौँ – संसदीय समितिले काठमाडौँको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भीर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो । त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा सो कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कारबाही गर्न सिफारिस गरेको हो ।

दिएको निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुसी गर्ने सो कम्पनीलाई कारबाही गर्न्ुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।

समितिले सो पुलको पुन डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्य जीप छिरिङ लामाले सो पुलको निर्माण कार्यमा ढिलाई गर्न नहुनेमा जोड दिएका थिए ।

उनले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि सो पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्ने पनि स्पष्ट पारे ।

पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो । यसले अन्य आयोजनाहरुको काम पनि सुरु गर्ने अनि अलपत्र छाड्ने काम गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.