सहयोगी पाउँदैनन स्वीडेनका सांसदले

0

बिबिसी – सुन्दा पत्याउन गाह्रो तर वास्तविकता । युरोपियन मुलुक स्वीडेनका सांसदले सल्लाहकार राख्दैनन, सानो कोठामा बसेर दैनिकी चलाउँछन् र चियाको पैसा आफैँ तिर्छन् यो सत्य हो । नेपालका नेता सांसद वा सरकारी निकायमा पुगेका उपल्लो तहका व्यक्तिले लिने सुविधा देखेका नेपालीलाई यो पत्याउन मुस्किल हुन्छ ।

संसदको खाजाघरमा पार्न यानहोक्यान्सन जस्ता सांसदहरू नियमित भेटिन्छन् । राजनीतिमा लाग्नु आर्थिक हिसाबले निक्कै फाइदाजनक हुने धेरैको बुझाइ छ । तर, स्वीडेनमा भने त्यस्तो हुँदैन । युरोपको यो देशमा जनप्रतिनिधिले आफ्नो काम गर्दा अपनाउने मितव्ययिता र सादा जीवन राजनीतिको एक परिचय हो ।

उदार भत्ता र थुप्रै सुविधाहरूको स्थानमा स्वीडेनका सांसदहरूले करदाताको पैसा खर्च गर्दा कसिला सीमाहरूको पालना गर्ने गर्छन् । ‘हामी सामान्य नागरिक हौँ,’ सोसल–डेमोक्रेटिक पार्टीका सांसद पार्न यान होक्यान्सनले भने, ‘हाम्रो काम भनेको नागरिकहरू र उनीहरूले जिउने जीवनलाई प्रतिनिधित्व गर्नु भएकोले सांसदहरूले विशेष सुविधा लिनु ठिक हुँदैन ।’ ‘हाम्रो सुविधा भनेको आफ्नो काम गर्न पाउनु र देशलाई दिशानिर्देश गर्न पाउनु हो,’ यान होक्यान्सनले भने ।

प्रधानमन्त्री स्टेफान लोभेन गाडी भएका स्वीडेन एकमात्र नेता हुन् । स्वीडेनका सांसदहरूले सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउँछन् । तर, उनीहरूलाई सरकारले कुनै गाडी वा चालक प्रदान गर्दैन । स्वीडेनको संसदसँग तीनवटा गाडी छन् जुन संसदका अध्यक्ष र तीन उपाध्यक्षले आधिकारिक कार्यक्रममा मात्रै उपभोग गर्न पाउँछन् ।

‘हामी यातायात सेवा दिन बसेको होइन,’ संसदकी एक अधिकारीले भनिन्, ‘यहाँ भएका गाडी मानिसहरूलाई घर लान वा कार्यालय पु¥याउन होइन ।’ स्वीडेनमा सरकारी गाडीको सुविधा पाउने एकमात्र नेता प्रधानमन्त्री हुन् ।

यति मात्रै होइन, स्वीडेनका सांसदहरूको तलब अन्य देशको तुलनामा कम छ । स्वीडेनका सांसदहरूले मासिक छ हजार नौ सय अमेरिकी डलर तलब बुझ्छन् जुन अमेरिकी सांसदले पाउने तलबभन्दा आधा हो । स्वीडेनका नागरिकहरूको औसत मासिक तलब दुई हजार आठ सय डलर छ ।

राजधानी स्टकहोमभन्दा बाहिरबाट निर्वाचित सांसदहरूले संसद चलेको दिन दैनिक भत्तावापत करिब १२ डलर पाउँछन् । जुन स्टकहोममा एक पटक खाना खान पुग्छ । सन् १९५७ सम्म त त्यहाँका सांसदहरूले तलब पनि पाउँदैनथिए ।

सांसदहरूलाई तलब दिने निर्णय कुनैपनि नागरिकले राजनीतिमा भाग लिनबाट वञ्चित हुन नपरोस् भनेर गरिएको हो । स्वीडेनका सांसदहरूले सस्तोमा आवास सुविधा भने पाउँछन् । तर, त्यो पनि स्टकहोम बाहिरका सांसदहरूले मात्रै । सांसदले पाउने आवास सुविधासम्पन्न छैन । पार्न यानहोक्यान्सन बस्ने ठाउँ ४६ स्क्वायर मिटरको मात्रै छ ।

सांसदहरूका लागि प्रदान गरिने आवासमा पति वा पत्नी बस्दा भाडा तिर्नुपर्छ । कुनै कुनै सरकारी क्वार्टर त १६ स्क्वायर मिटरको एउटा कोठा मात्रै भएका हुन्छन् । ती सबै आवासमा लुगा धुने मेसिन वा भाँडा धुने मेसिन हुँदैनन् र एक जना सुत्ने खाटमात्रै हुन्छ ।

करदाताहरूको पैसाले सांसदले मात्रै सुविधा पाउँछन् । उनीहरूको पति वा पत्नी वा छोराछोरीले त्यो स्थानमा एक रात मात्रै बस्न पनि पैसा तिर्नुपर्छ । यदि कोही आफ्नो पति वा पत्नीसँग बस्न चाहेका आफूले पाउने स्थानको आधा भाडा सरकारलाई तिर्नुपर्छ । अझ सांसदहरूले चियाको पैसा पनि आफैँ तिर्छन् ।

सांसदले सरकारी आवासको सुविधा नलिएर बाहिरै भाडामा बस्न सक्छन् र त्यसका लागि मासिक अधिकतम आठ सय २० डलरसम्म पाउँछन् । त्यो पैसाले स्टकहोमको मुख्य स्थानहरूमा भाडामा आवास पाउन मुस्किल छ । सन् १९९० सम्म त स्वीडेनका सांसदहरू १५ स्क्वायर मिटरको कार्यालयमै सुत्नुपथ्र्यो ।

स्वीडेनका सांसदहरूले सहयोगी वा सल्लाहकारहरू राख्न पाउँदैनन् । संसदले दलहरूलाई दिने पैसाबाट दलहरूले नै आफ्ना सांसदहरूका लागि सहयोगीहरूको व्यवस्था गर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.