आरोप पूर्णतः झुट, महिलाको प्रयोग गरेर रकम हत्याउने स्वार्थको खेलमा वकिलहरु’

0

यौन हिंसा प्रकरणमा नेइमारको स्पष्टिकरण

ब्राजिलका स्टार फुटबलर नेइमारले आफूमाथि लागेको यौन हिंसाको आरोप अस्वीकार गरेका छन् । एक महिलाले नेइमारमाथि यौन हिंसाको आरोप लगाउँदै साओ पाओलोमा उजुरी दर्ता गरेकी छन् ।

वकिलहरुले ती महिलालाई प्रयोग गरेर आफूबाट रकम हत्याउनका लागि झुट आरोप लगाएको नेइमारले बताएको सामाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । महिलालाई प्रयोग गरेर आफूबाट स्वार्थ पूरा गर्न चाहने धुर्त वकिलहरुले झुटो केस बनाएर उजुरी दर्ता गरेको नेइमारले दाबी गरेका छन्। नेइमारको आधिकारिक वेबसाइटमा जारी गरिएको वक्तव्यमा नेइमारले आरोप पूर्ण रुपमा अस्वीकार गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘नेइमार समाचारबाट अचम्मित भएका छन्, घटनाको तथ्य नेइमार तथा उनको टिमलाई जानकारी छ । केही दिनअघि देखि नै उनलाई साओ पाओलोका वकिलले उनीबाट रकम हत्याउनका लागि धम्की दिँदै आएका थिए । ती वकिलहरु स्वार्थका लागि पीडित भनिएकी महिलाका प्रतिनिधि बनेका मात्रै हुन् ।’

नेइमारका वकिलले आवश्यक प्रक्रिया सुरु गरिसकेको वक्तव्यमा उल्लेख गरिएको छ । महिलामाथि बलात्कार नभएको र नेइमारलाई धम्क्याएर रकम हत्याउन खोजिएका बारेको सबै प्रमाण आवश्यकता अनुसार प्रहरी अधिकारी समक्ष पेश गरिने उल्लेख गरिएको छ ।

नेइमारविरुद्ध ब्राजिलको साओ पाओलोमा एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप दर्ता गरेकी हुन् । ती महिलाले पेरिसको एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप लगाएकी छन् ।

नेइमार फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट खेल्दै आएका छन् । नेइमार अहिले कोपा अमेरिकाको तयारीका लागि ब्राजिलको राष्ट्रिय टिममा छन् र अभ्यास गरिरहेका छन् ।

ती महिलाले प्रहरीमा दिएको उजुरीका आधारमा आफूले नेइमारलाई इन्स्टाग्राम मार्फत चिनेको उल्लेख गरिएको छ । नेइमारकै आग्रहमा पेरिसमा आफूहरुको भेट भएको ती महिलाले उल्लेख गरेकी छन् । महिलाको नाम खुलाइएको छैन ।

ब्राजिलकी ती महिलालाई नेइमारले नै फ्रान्सका लागि विमान टिकटको व्यवस्था गरेको र उनका लागि होटल साफिटेल पेरिसमा कोठा बुक गरिदिएको पनि उल्लेख गरिएको छ । घटना गएको यहि मे १५ को रहेको उल्लेख गरिएको छ ।

नेइमार होटल आइपुग्दा रक्सीले मातेको अवस्था रहेको ती महिलाले आरोप लगाएकी छन् । केही गफगाफ र असहज वातावरणपछि नेइमार आक्रोशित बनेको र आफ्नो इच्छा विपरित यौन सम्बन्ध कायम गरेको ती महिलाले आरोप लगाएकी छन् । ती महिला दुई दिनपछि ब्राजिल फर्किएकी थिइन्।

उनले आरोपित घटनाका बारेमा फ्रेन्च प्रहरीमा उजुरी दिएकी थिइनन् । महिला भावनात्मक रुपमा विक्षिप्त अवस्थामा रहेको र अर्को देशमा घटना दर्ता गर्न डराएकाले ब्राजिलमै गरिएको प्रहरी उजुरी दर्ता गर्दाको कागजातमा उल्लेख छ । नेइमारका पिता नेइमार डोस सान्तोसले भने सम्पूर्ण घटना आफ्नो पुत्रलाई ‘ट्रयाप’ मा पर्नेका लागि रचिएको स्पष्ट रहेको उल्लेख गरेका छन् ।

ती युवतीसँग नेइमारको ह्वाट्सएपमा भएको कुराकानी सार्वजनिक गर्न पर्ने भए पनि आफूहरु तयार रहेको उनले उल्लेख गरेका छन् ।

२७ वर्षका नेइमार कोपा अमेरिकाको तयारीमा छन् । प्रशिक्षणको क्रममा भएको घटनाका कारण उनीबाट कप्तानी खोसिएको छ । यस्तै एक फ्यानलाई कुटेका कारण फ्रेन्च फुटबल कमिटिले तीन खेलको प्रतिबन्ध लागेको छ क्लब फुटबलमा ।

यस्तै ड्रेसिङ्ग रुममा पनि उनको समस्या रहेको बताइन्छ । नेइमारसहितको टिम ब्राजिलले यहि जुन १४ देखि हुने कोपा अमेरिकाको तयारी गरिरहेको छ

Leave A Reply

Your email address will not be published.