दक्षिण कोरियाले ४० लडाकु जहाज किन्ने

0

सोल– दक्षिण कोरियाले यसै महिना जहाज निर्माता अमेरिकी कम्पनी लकहिड मार्टिनसँग ४० वटा एफ–३५ लडाकु जहाज खरिदको सम्झौता गर्दैछ।

७.०६ अर्ब अमेरिकी डलर मूल्य पर्ने ४० वटा एफ–३५ लडाकु जहाज लकहिड मार्टिनले सन् २०१८ देखि २०२१ भित्रमा दक्षिण कोरियालाई हस्तान्तरण गर्नुपर्नेछ। दक्षिण कोरियाली रक्षा प्रशासनले ४० वटा एफ–३५ लडाकु जहाज खरिदमा सहमत भएको बुधबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

थोत्रा हुँदै गएका आफ्ना लडाकु जहाज प्रतिस्थापन गर्न दक्षिण कोरियाले गएको मार्चमा एफ–३५ लडाकु जहाज खरिदको योजना बनाएको थियो। एफ–३५ लडाकु जहाज आफ्नो वायुसेनामा भित्याउने दक्षिण कोरिया दसौं राष्ट्र हो। छिमेकी उत्तर कोरिया र चीनसँग सशंकित दक्षिण कोरियाले रक्षा बजेटमा निकै खर्चने गरेको छ।

दक्षिण कोरियाले मार्चपछि एफ–३५ लडाकु जहाजको परीक्षणपश्चात् लकहिडसँग खरिदबारे सहमति गरेको थियो। जुनमा अमेरिकी वायुसेनाको एउटा एफ–३५ लडाकु जहाजको इन्जिनमा आगलागी भएपछि वायुसेनाले आफ्ना सबै एफ–३५ लडाकु जहाज निकै साता ग्राउन्डेड गरेको थियो। तर दक्षिण कोरियाले इन्जिनमा भएको आगलागीको बेबास्ता गर्दै लडाकु जहाज खरिदको निर्णय गरेको थियो।

लकहिडमा एफ–३५ सम्बन्धी विभाग हेर्ने सरकारी अधिकारीले दुर्घटनाको कुनै पनि असर एफ–३५ को क्षमता, मूल्य, हस्तान्तरण मिति र सुरक्षामा नपर्ने आश्वासन दिएका थिए। त्यसपछि दक्षिण कोरियाले अमेरिकी अधिकारीको भनाइमाथि विश्वास गर्दै लडाकु जहाज खरिदको निश्चय गरेको थियो।

दक्षिण कोरियाले लकहिडसँग फलो अप सम्झौता पनि गर्ने भएको छ। सम्झौताअनुसार लकहिडले लडाकु जहाजको मर्मत तथा सम्भार कोरियामै गर्नुपर्नेछ।
दक्षिण कोरियाले बोइङसँग ६० एफ–१५ लडाकु जहाज खरिद निर्णय गत वर्ष पुनरावलोकन गर्दै लकहिडसँग ४० एफ–३५ लडाकु जहाज किन्ने निर्णय गरेको थियो। लकहिड मार्टिनले पनि यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।

Leave A Reply

Your email address will not be published.