डा. महतलाई विदेशबाट बधाई

0

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नवनियुक्त परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई विभिन्न मित्रराष्ट्रहरूले सुखद कार्यकालका लागि बधाई तथा शुभकामना दिएका छन् ।
गत शुक्रबार पदभारग्रहण गरेलगत्तै दिउँसो ३ बजे चिनियाँ राजदूत उ छुन्ताई आफ्ना विदेशमन्त्रीको बधाई तथा शुभकामना पत्र लिएर भेट्न पुग्नुभएको थियो । भेटका क्रममा उहाँले नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको मित्रता परराष्ट्रमन्त्री डा.महतको कार्यकालमा अझ विस्तार हुने विश्वास आफ्नो देशका विदेशमन्त्रीले प्रकट गरेको बताउनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सबैभन्दा पहिलो बधाई छिमेकी मुलुक चीनबाटै पाउनुभएको थियो ।
यसैगरी, नवनियुक्त परराष्ट्रमन्त्री डा.महतलाई नेपालका लागि भारतीय राजदूत रणजित रायले टेलिफोनबाटै बधाई तथा शुभकामना प्रकट गर्नुभएको छ । एयर डाइनेस्टीको हेलिकोप्टर लिएर मनाङ भ्रमणमा जानुभएका भारतीय राजदूत रायले त्यहीँबाट टेलिफोन गरी नवनियुक्त परराष्ट्रमन्त्री डा.महतलाई बधाई तथा शुभकामना दिनुभएको हो । एक कार्यकाल परराष्ट्र राज्यमन्त्रीका रूपमा अनुभव सम्हालिसक्नुभएका नवनियुक्त परराष्ट्रमन्त्री डा.महतलाई मित्रराष्ट्रहरूबाट बधाई तथा शुभकामना आउने क्रम जारी छ ।
नुवाकोट जिल्लाको कविलास–८ मा २०१६ साल कात्तिकमा बुबा खड्गबहादुर महत र आमा टोलकुमारी महतका कान्छो छोराका रूपमा जन्मिनुभएका नेता डा.महत विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा हुनुहुन्छ । बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादबाट पे्ररणा पाएर सानै उमेर (२०२७ साल) देखि राजनीति सुरु गर्नुभएका डा. महतले अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । २०३६ सालदेखि नेविसंघको केन्द्रीय सदस्य र २०४० देखि २०४४ सालसम्म महामन्त्री रहनुभएका डा. महतले पञ्चायतकालमा पटक–पटक गरी करीब पाँच वर्ष जेलजीवन बिताउनुभएको छ ।
डा. महत काठमाडौंको शान्ति विद्यागृहमा कक्षा ७ मा पढ्दा २०२९ सालमा पहिलो पटक गिरफ्तार हुनुभएको थियो । उहाँ २०३३ सालमा महाराजगन्ज कलेजको नेविसंघ एकाइका सभापति हुनुहुन्थ्यो । प्रधानमन्त्रीको सल्लाहकार, राष्ट्रिय योजना आयोगको सदस्य, परराष्ट्र राज्यमन्त्री र ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका डा.महत २०६० सालदेखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य र २०६४ सालदेखि निरन्तर सांसद हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.