आज पनि प्रधानमन्त्री ओलीको पक्षमा रत्नपार्कमा प्रदर्शन

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पक्षमा आज पनि स्वतःस्फूर्त रुपमा प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा अभियानले रत्नपार्क अगाडि प्रधानमन्त्री ओली सरकारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका छन् । रत्नपार्कमा जम्मा भएका युवाले विभिन्न प्लेकार्ड बोकेर प्रधानमन्त्री ओलीको पक्षमा नारा जुलुस गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री ओलीले राष्ट्रियता स्वाधीनता जोगाएको, विदेशीसँग शिर नझुकाएको भन्दै नारा जुलुस गरेका थिए । प्रदर्शनमा युवाले प्रधानमन्त्री ओलीको पक्षमा गीत, कविता, गजलसमेत प्रस्तुत गरिएका थिए ।
प्रधानमन्त्री ओलीले सार्वभौमसत्ता जोगाएको र विदेशीसँग नझुकेकाले पक्षमा स्वतःस्फूर्त प्रदर्शन गरिएको अभियानका सदस्य नारायण घर्तीले जानकारी गराउनुभयो । ‘हामी सबैको एउटै सङ्कल्प, ओली सरकारको छैन विकल्प’ ‘म केपी ओलीको साथमा छु । देशमा अहिले तिम्रो आवश्यकता छ । जनता तिम्रो साथमा छ’, ‘राष्ट्रियता बेच्न पाइँदैन, नयाँ सरकार चाहिँदैन’ जस्ता प्लेकार्ड बोकेर युवाले प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री ओलीविरुद्ध संसद्को अविश्वासको प्रस्ताव दर्ता भएपछि शुक्रबारदेखि युवा अभियानले प्रदर्शन गर्दै आइरहेको छ । प्रदर्शनमा एमाले निकट भातृसंगठनका युवा संघ नेपाल र अनेरास्ववियुका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.