पहिरोमा परी प्यूठानमा आठजनाको मृत्यु

0

प्यूठान । गएराति पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ । उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उहाँसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको स्थानीय जोगिन्द्र मल्लले जानकारी दिनुभयो ।
मृत्यु भएका मल्ल अन्दाजी ४५ वर्षीय हुनुहुन्थ्यो भने ४० वर्षीया श्रीमती सीता मल्ल, १० वर्षीया छोरी सुशीला, ७ वर्षीया लेखा र डेढ वर्षीया सिर्जनाको पनि पुरिएर मृत्यु भएको हो ।
घटनास्थलमा उद्धारका लागि अहिले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त नेतृत्वमा प्रहरी नायब उपरीक्षक रञ्जतसिंह राठोरसहित रेडक्रस तथा उद्धार टोली अग्लुङ पुगेको छ । रजवारा गाविसमा सडकको पहुँच नहँुदा अग्लुङबाट झन्डै दुई घन्टाभन्दा बढी हिँड्नुपर्ने हुन्छ । हाल पहिरोमा परेकाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।
त्यस्तै, गएरातिनै घर भत्किँदा उत्तरी प्यूठानकै पुजा–३ मा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुजाका होम बहादुर सुनार, नाम नखुलेकी उनकी श्रीमती र नातिनी रहेको थाहा हुन आएको छ । पुजामा उद्धारका लागि प्रहरीलाई खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तर रजवारामा ठूलो घटना भएकाले पुजामा तत्काल प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोली पुग्न नसक्ने प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । यसको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, प्यूठानको बरौला गाविसमा झिमरुक नदीको बीचमा सातजना कामदार फसेका छन् । हरियाटारमा कुलो निर्माणका लागि काम गर्दै आएका सात जना मजदुर नदीको बीचमा फसेको तर हालसम्म उद्धार हुन नसकेको स्थानीय गोपाल थापाले जानकारी दिनुभयो । मजदुरको गएरातिदेखी आज विहानसम्म मजदुरको उद्धार हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.