३६ डाक्टरविरुद्ध मुद्दा दायर

0

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर चिकित्सक बनेको आरोपमा पक्राउ गरिएका ३६ जनाविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज ठगीको अभियोगमा मुद्दा दायर गरेको छ । ब्यूरोले पछिल्लो समयमा अनुसन्धानका लागि माग गरेको १५ दिनको समयमा आज सबै चिकित्सकविरुद्ध मुद्दा दायर गरेको हो । पक्राउ परेका चिकित्सकको काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, झापा, जनकपुर, धुनषा, वीरगन्ज, चितवन, दाङ, लमजुङ र कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
मुद्दामा हदैसम्मको कारबाही माग गरिएको सीआईबी प्रमुख नवराज सिलवालले जानकारी दिनुभयो । सीआईबिले नक्कली चिकित्सकको आरोपमा पक्राउ परेका कान्तिपुर डेण्टल हस्पिटलका प्रमुख बुद्धिमान श्रेष्ठलाई ४० लाख ठगी गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको छ । यस्तै त्रिपुरेश्वरस्थित लोकहीत डेण्टल हस्पिटलका डा. गणेश शाहविरुद्ध ११ लाख १३ हजारको बिगो कायम गरिएको छ ।
बीएण्डबी अस्पतालका डाक्टर अरुणकुमार गुप्ता र बिनिता मण्डलविरुद्ध पनि मुद्दा दायर गरिएको छ । काठमाडौंबाट पक्राउ परेका ८ जना चिकित्सकलाई हिरासतमा राखी अनुसन्धान गर्न ३ दिनको म्याद थपिएको छ । सीआईबीले आजै ललितपुरमा २ जना विरुद्ध आरोपपत्र दायर छ । किष्ट मेडिकल कलेजका डाक्टर दिपेश पौडेलसँग साँढे ६ लाख बिगो माग दाबी गरिएको छ भने परिवार नियोजन संघ ललितपुरका डा. गजानन्दप्रकाश अधिकारीविरुद्ध साढे ४२ लाखको बिगो कायम गरी ठगीको मुद्दा दायर गरिएको छ । उनीहरु आजै थुनछेक बहसपछि जनही ५० हजार धरौटीमा रिहा भएका छन् ।
नक्कली प्रमाणपत्रकै आरोपमा विराटनगरबाट पक्राउ परेका ३ जना चिकित्सकलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले डा. लिली राजवंशीलाई ३५ लाख, डाक्टर सञ्जयकुमार दासलाई २३ लाख ९० हजार र डा. अवुल कलामलाई १३ लाख घरौटीमा छोड्ने आदेश दिएको हो । यस्तै, डा. जावेद अख्तर अन्सारीलाई ५० हजार धरौटीमा छुटेका छन् ।

Leave A Reply

Your email address will not be published.