कांग्रेसको अवरोधले संसद बैठक स्थगित

0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठकमा अबरोध गरेको छ । भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको, पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्नेलगायतका माग राख्दै कांग्रेसले अवरोध गरेपछि बैठक भोलि विहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । सभामुखसँग समय लिएर बैठकको सुरुमै बोलेका सांसद प्रकाशशरण महतले सरकारले प्रतिबद्धताअनुसार काम नगरेकाले अबरोध गर्न बाध्य भएको तर्क गरे ।
सभामुख ओनसरी घर्तीले त्यस विषयमा सरकारले भोलि नै सदनलाई जानकारी गराउने जानकारी दिँदै बैठकमा अबरोध नगर्न आग्रह गरेकी थिइन् । तर, कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले प्रधानमन्त्रीले भूकम्पपीडितलाई एकमुष्ठ रकम उपलब्ध गराउनेबारे एक घण्टाभित्र प्रतिबद्धता नजनाए संसद चल्न नदिने अडान राखेपछि बैठक स्थगित गरिएको हो । आफू नेतृत्वको अघिल्लो सरकारले भूकम्पपीडितलाई दुई लाख रुपैयाँ अनुदान र सहुलियतमा ऋण दिने निर्णय गरेको भन्दै कांग्रेसले सो निर्णय कार्यान्वयन नगरिए संसद अबरोध गरिरहने चेतावनी दिएको छ । यसअघि आज विहान बसेको कांग्रेस संसदीय दलको बैठकले भूकम्पपीडितको माग सम्वोधन नगरिए संसद अवरोधदेखि पीडितलाई साथ लिएर जिल्ला–जिल्लामा आन्दोलन गर्ने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.