पूर्वराजा र पूर्वप्रमविरुद्ध उजुरी

0

काठमाडौं । द्वन्द्वका बेला नेपाली सेनाले २७ महिनासम्म बेपत्ता अवस्थामा राखेका मुक्तबन्दी कृष्ण केसीले आज सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराउनुभएको छ ।
बागलुङ नगरपालिका वडा नं ३ स्थायी ठेगाना भएका केसीले पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवामाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराउनुभएको हो ।
आयोगका अध्यक्ष सूर्यकिरण गुरुङलाई बुझाएको उजुरीमा जनयुद्ध सुरु भएदेखि २०६२ ÷०६३ को जनआन्दोलनसम्मका सरकारका प्रधानमन्त्री र शाही कदममार्फत सत्ता हातमा लिएका पूर्वराजा ज्ञानेन्द्र शाह युद्धकालका प्रमुख दोषी भएकाले कारबाहीको दायरामा ल्याउन अपिल गरिएको छ ।
केसीले आयोगका अध्यक्ष गुरुङसमक्ष द्वन्द्वकालका घटना निष्पक्षतापूर्वक छानबिन गर्न र दोषीमाथि कठोर दण्ड सजायको सिफारिस गर्न आग्रह गर्नुभएको छ ।
विसं २०६० भदौ २७ गते काठमाडौँको मनोहरा पुलबाट पक्राउ परेका केसीलाई नेपाली सेनाले भैरवनाथ गण र काठमाडौँ उपत्यकाका विभिन्न सैनिक ब्यारेक तथा गोरखाको महेन्द्र दल गणमा ८१० दिनसम्म बेपत्ता अवस्थामा राखिएको पनि उजुरीमा उल्लेख छ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनाबारे उजुरीका लागि असार २ गतेसम्मको समय दिएको छ । पर्याप्त उजुरी नपरेको भन्दै आयोगले म्याद थप्ने विषयमा पनि सोचिरहेको आयोगका सहसचिव राधाकृष्ण प्रधानले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.