राष्ट्रिय सहमतिका लागि एमाले तयार

0

काठमाडौं । प्रमुख सत्ता घटक दल नेकपा (एमाले)नेताहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताउनुभएको छ । पार्टीका विभाग गठनको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँहरुले राष्ट्रिय सहमति मुलुकको अहिलेको आवश्यकता हो भन्दै संविधान कार्यान्वयनका लागि प्रमुख दलबीच साझा समझदारी हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा महासचिव ईश्वर पोखरेलले सहमतिमा बन्ने राष्ट्रिय सरकारप्रति आफ्नो पार्टीको सहमति हुने जानकारी दिँदै भन्नुभयो, “सहमति एमाओवादीका अध्यक्षका नाममा पनि हुन सक्छ वा काँग्रेसको तथा एमालेका नेताका नाममा पनि हुन सक्छ ।”
सहमतिका लागि अघि बढ्न एमालेमा कुनै द्विविधा नभएकामा जोड दिँदै महासचिव पोखरेलले भद्र सहमतिका बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । “त्यो बैठकमा बस्ने साक्षी हामी पनि हाँै”– उहाँले भन्नुभयो । “सहमति हुनु मुख्य कुरा हो । कसले नेतृत्व गर्छ त्यो प्रमुख कुरा होइन । सहमतिको प्रयत्नलाई स्वीकार गरेर नयाँ खालको स्थिति आउँछ भने पनि त्यसका लागि छलफल गर्न हामी तयार छौँ”– उहाँले भन्नुभयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मुलुक संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रमुख दलकाबीच साझा सहमति आवश्यक रहेको बताउनुभयो । शान्ति प्रक्रियादेखि संविधान निर्माण प्रक्रियासम्म प्रमुख दलबीच भएको सहमति र साझा समझदारी संविधान कार्यान्वयनमा हुनु आवश्यक रहेकामा जोड दिँदै नेता खनालले भन्नुभयो, “त्यस्तो सहमति हाम्राबीचमा भएकै हो । प्रमुख दल सत्तामा वा प्रतिपक्षमा बसे पनि साझा समझदारी चाहिन्छ ।”
एमालेले २०७१ साल असारमा सम्पन्न भएको नवौँ राष्ट्रिय महाधिवेशनपछि आज नामावलीसहित केन्द्रीय विभाग गठन गरेको छ । विसं २०७२ चैतको अन्तिम तथा २०७३ वैशाखको पहिलो हप्तामा सम्पन्न भएको पार्टी केन्द्रीय कमिटीको छैटौँ बैठक तथा स्थायी समितिको बैठकले उक्त काम सम्पन्न गर्नका लागि पार्टी महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सचिवद्वय पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले छलफल र परामर्श गरी बढीमा २५ सदस्यसहित ३१ वटा विभाग गठन गरेको पोखरेलले बताउनुभयो ।
गठन गरिएका विभागमध्ये पार्टी स्कुल विभाग प्रमुखमा केपी शर्मा ओली, वैदेशिक मामिला विभाग प्रमुखमा माधवकुमार नेपाल, अर्थ तथा योजना विभागको प्रमुखमा सुरेन्द्र पाण्डे, आर्थिक विभाग प्रमुखमा विष्णुप्रसाद रिमाल, उद्योग तथा वाणिज्य विभाग प्रमुखमा मुकुन्द न्यौपाने, उपभोक्ताहित संरक्षण तथा सुशासन विभाग प्रमुखमा घनेन्द्र बस्नेत, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा ठाकुर गैरे रहनुभएको छ ।
त्यस्तै जलस्रोत तथा ऊर्जा विभाग प्रमुखमा प्रदीप नेपाल, न्याय तथा कानुन विभाग प्रमुखमा रघुजी पन्त, निर्वाचन विभाग प्रमुखमा राजेन्द्रप्रसाद पाण्डे, पर्यटन प्रवद्र्धन विभाग प्रमुखमा सूर्य थापा, प्रचार विभाग प्रमुखमा योगेश भट्टराई, पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा काशीनाथ अधिकारी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखमा डा विजयकुमार पौडेल, युवा तथा खेलकुद विभाग प्रमुखमा कर्णबहादुर थापा, राजकीय मामिला विभाग प्रमुख भीमप्रसाद आचार्य हुनुहुन्छ ।
राष्ट्रियहित सुरक्षा प्रवद्र्धन विभाग प्रमुखमा तुलबहादुर गुरुङ, वन तथा वातावरण विभाग प्रमुखमा नागेन्द्र चौधरी, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा डा वंशीधर मिश्र, शिक्षा तथा मानवस्रोत विभाग प्रमुखमा गङ्गालाल तुलाधर, सङ्गठन विभाग प्रमुखमा पृथ्वीसुब्बा गुरुङ, सहरी विकास विभाग प्रमुखमा श्रीमाया थकाली, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा पशुपति चौलागाईं, श्रम तथा रोजगार विभाग प्रमुखमा प्रकाश ज्वाला, सङ्घीय मामिला विभाग प्रमुखमा परशुमेघी गुरुङ, संसदीय विभाग प्रमुखमा सुवासचन्द्र नेम्वाङ, संस्कृति विभाग प्रमुखमा खगेन्द्र राई, सामाजिक सेवा विभाग प्रमुखमा डा विजय सुब्बा, सामान्य प्रशासन विभाग प्रमुखमा ममता गिरी, स्थानीय विकास विभाग प्रमुखमा किरण गुरुङ र स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखमा सुजिता शाक्य रहनुभएको छ ।

Leave A Reply

Your email address will not be published.