इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त : फ्रान्स

0

कायरो । पेरिसबाट इजिप्टको राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त भएको समाचार प्राप्त भएको छ । उक्त विमान निकै लामो सयमसम्म हराएपछि कहाँ गयो भन्ने बारेमा नै पत्ता लाग्न सकेको थिएन । बिहीबार बिहान पेरिसबाट उडेको सो विमान दुर्घटनामा परेको समाचार अपराह्न आएको हो । सो विमानमा यात्रु र चालक दलका सदस्य समेतगरी ६६ जना रहेका थिए ।
इजिप्टको समुद्री किनार र ग्रीकको एक द्वीपको बीचमा सो विमान दुर्घटनामा परेको पत्ता लागेको छ । तर उद्वारकर्मीहरू सो विमानको भग्नावशेषसम्म नै पुग्न भने सकेका छैनन् । सो विमान दुर्घटनाग्रस्त भएको जानकारी फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले दिनुभएको छ । उहाँले विमान दुर्घटनामा परेको समाचार आफूले पाएको बताउनुभयो ।
उक्त विमानको दुर्घटना कसरी भएको हो वा त्यसमा बम विस्फोट गराइएको हो कि भन्ने बारेमा पनि विस्तृत अनुसन्धान गर्न छानबिन समिति गठन गरी अनुसन्धानको काम सुरु भएको बताइएको छ । इजिप्टको आकासमा पुगेपछि उक्त विमान राडारको दृश्यबाट हराएको देखिएको छ । यसरी प्रारम्भिक रूपमा गरिएको अनुमानमा सो विमान २२ हजार मिटर माथिबाट खसेको छ ।
इजिप्ट र ग्रीसले नै सो विमानको खोजीका लागि सामुद्रिक र स्थल सेना पठाएका छन् । उक्त खोजीमा फ्रान्सको सेना पनि जाने जनाइएको छ । उक्त विमानमा अधिकांश इजिप्टेली र २६ जना विदेशी नागरिक थिए । विदेशीमध्ये १५ जना फ्रान्सेली रहेका थिए । विमानमा बेलायती र क्यानाडेली पर्यटक पनि रहेका थिए ।
उक्त विमानमा आतङ्कवादीको बम हमला पनि भएको हुनसक्ने अनुमान गरिएको छ । त्यसैले अनुसन्धान व्यापक मात्रामा गरिने फ्रान्सेली सरकारले जनाएको छ । विमान हराएको समाचार पछि नै त्यसमा आतङ्कवादी सङ्गठन आईएसको हात हुनसक्ने अनुमान गरिएको थियो । सो समाचार पछि नै फ्रान्सेली सरकारको आकस्मिक बैठक बसेको थियो । सो बैठकले नै आतङ्कवादी हमला हुनसक्ने भनी आएका समाचारहरू पूर्ण रूपमा सही हुन नसक्ने बताएको थियो ।
आतङ्कवादी हमला वा प्राविधिक कारण दुवै हुनसक्छ– इजिप्ट यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार उक्त विमानको दुर्घटनाका कारण कुनै पनि हुनसक्ने इजिप्टले जनाएको छ । इजिप्टले दिएको जानकारीअनुसार बजारमा चलेका हल्लाअनुसार जहाज दुर्घटनाको कारण के हो भन्ने बारेमा अझै पनि स्पष्ट भएको छैन ।
इजिप्टका उड्डयनमन्त्री सरिफ फाथेले भन्नुभयो– म यी दुवै हल्लालाई अहिले नै यो नै हो भन्न पनि सक्दिन र दुर्घटनाको कारण यही नै हो भनेर भन्न सक्ने अवस्थामा पनि छैन । उहाँले अनुसन्धान सुरु भएकोले छिट्टै नै यसको कारण थाहा हुने जानकारी पनि दिनुभयो । उहाँले अहिलेसम्म जहाज दुर्घटनाको बारेमा नै स्पष्ट समाचार नआएको र जहाजका भग्नावशेषहरू नै नभेटिएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.