राष्ट्रिय सरकार गठनमा फेरि प्रयास गर्छौं : कृषिमन्त्री गजुरेल

0

सिन्धुली । कृषिमन्त्री तथा एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले राष्ट्रिय सरकार गठनमा एमाओवादी अहिले असफल भए पनि फेरि प्रयास गर्ने बताउनुभएको छ । प्रगतिशील उमावि झागाझोली रातमाटाको भवनको शिलान्यास समारोहमा उहाँले देशको विकास र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको भन्दै एमाओवादीको प्रयास असफल भए पनि पुनः थालिने गजुरेलको भनाइ छ ।
अहिले राष्ट्रिय सहमतिको सरकार गठन नभएमा नेपालको राजनीतिक घटनाक्रममा २०१७ र २०५८ साल ब्युँतन सक्ने भन्दै दलहरुले बेलैमा सचेतपूर्वक सहमतिको सरकार गठन गर्नुपर्ने बताउनुभयो ।
नेपालमा राजनीति परिवर्तन भए पनि राज्य परिवर्तन हुन नसकेको एमाओवादीका नेतासमेत रहनुभएका हरिबोल गजुरेलले बताउनुभयो । राज्य परिवर्तनका लागि नेपालको शिक्षा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो । नेपालमा लामो समय र ठूलो सङ्घर्षपछि जनसंविधान जारी गरे पनि यसको कार्यान्वयनमा चुनौती रहेको बताउँदै गजुरेलले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकामा जोड दिनुभयो ।
मन्त्री गजुरेलले किसानलाई पेन्सन दिने कार्यको थालनी नयाँ आवको सुरुबाट हुने बताउनुभएको छ । किसानको वर्गीकरण गरी किसानलाई सरकारले पेन्सन दिने नीति ल्याएअनुरुप अब नयाँ आवको सुरुबाट किसानले पेन्सन पाउने उहाँको भनाइ थियो ।
पहिला किसानको वर्गीकरण गरेपछि मात्र किसानलाई पेन्सन दिने मन्त्री गजुरेलको भनाइ थियो । नेपाल कृषि प्रधान देश भए पनि कृषिमा राज्यको लगानी कम भएकाले किसानलाई सहुलियत दिने कार्यक्रम अहिलेको सरकारले गर्ने उहाँको दाबी रहेको थियो । रु एक करोड ५० लाखको लागतमा निर्माण गरिने प्रगतिशील उमावि झाराको भवन निर्माणका लागि अहिलेसम्म रु ७० लाख सङ्कलन भएको छ ।

Leave A Reply

Your email address will not be published.