मुलुकलाई सहमतीय सरकार चाहिएको छ : गच्छदार

0

विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को प्रथम राष्ट्रिय महाअधिवेशन पार्टीको विधान पारित गर्नाका साथै पार्टी अध्यक्षमा विजयकुमार गच्छदार तथा ४२ केन्द्रीय सदस्यलाई निर्विरोध निर्वाचित गरी आज सम्पन्न भएको छ ।
दलको नाम परिवर्तन भने कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा नवनिर्वाचित केन्द्रीय समितिको बैठकले चयन गर्ने भएको छ । यही वैशाख २० गते सुरु भएको महाधिवेशनमा ६२ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी दुई हजार ८०० को सहभागिता थियो ।
अधिवेशनको समापनका अवसरमा नवनिर्वाचित पार्टी अध्यक्ष गच्छदारले राष्ट्रिय एकता, राजनीतिक स्थिरता र सहमतिका आधारमा मुलुकलाई अगाडि बढाउन पार्टीले भूमिका निर्वाह गरिरहेको बताउँदै ठूला दलबीचको सहमतिका साथै मधेसी मोर्चालाई पनि सहमतिमा लिएर अगाडि बढेमा मात्र मुलुकको समस्या समाधान हुने स्पष्ट पार्नुभयो ।
“संविधानको कार्यान्वयनका साथै मुलुकमा स्थिरता, समृद्धि, शान्ति र विकासका लागि सहमतीय सरकार आवश्यक छ, यसका लागि काँग्रेस र एमाले लगायतसँग छलफल गर्न म तयार छु”उहाँले भन्नुभयो ।
महाधिवेशन तयारी समितिका संयोजक भारतेन्दु मल्लिक, पार्टीका मोरङ जिल्ला अध्यक्ष भक्तिनाथ माझी लगायतले महाधिवेशनका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । यसअघि महाधिवेशनका निर्वाचन संयोजक नासिर सिद्धिकीले नवनिर्वाचित अध्यक्ष गच्छदारका साथै केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गरी सपथ गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.