सभापति देउवा र सभामुख घर्तीबीच भेटवार्ता

0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीबीच संसद नियमावली पारित गर्न सहमति जुटाउने सम्बन्धमा छलफल भएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा आज सभापति देउवा र सभामुख घर्तीबीच संसद् नियमावली पारित गर्न सहमति जुटाउने विषयमा छलफल भएको भेटमा सहभागी काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
सत्ता पक्ष र प्रतिपक्षको आ–आफ्नो अडानले संसद्का काम कारबाही सञ्चालनका लागि आवश्यक पर्ने संसद् नियमावली पारित हुन सकेको छैन । संसद् नियमावली पारित हुन नसक्दा संसद्का गतिविधिसमेत प्रभावित हुँदै आएका छन् ।
नयाँ संविधानअनुसार संसद् नियमावलीअन्तर्गत रहने संसदीय सुनुवाइ विशेष समितिको संरचनाका बारेमा निक्र्योल हुन नसक्दा संवैधानिक निकायको नियुक्तिमा समेत कठिनाइ उत्पन्न भएको छ । भेटमा काँग्रेसले नयाँ संविधानका सबै संरचना निर्माण नहुन्जेलसम्म सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्का अन्य समिति झैँ संसदीय विशेष सुनुवाइ समिति पनि स्वतः व्यवस्थापिका–संसद्को समितिमा परिणत हुनुपर्ने तर्क गरेको थियो ।
सभामुख घर्तीले संसद् नियमावली पारित गर्ने सम्बन्धमा ठूला दलका शीर्ष नेताहरुले शीघ्र सहमतिका लागि आग्रह गर्नुभएको थियो । सभामुख घर्तीले यही वैशाख २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र त्यसको कार्यतालिका बनाउनुपर्ने भएकाले सहमतिका लागि पहल गर्न सभापति देउवालाई आग्रह गर्नुभएको प्रमुख सचेतक श्रेष्ठले बताउनुभयो ।
संसदीय सुनुवाइ विशेष समितिका सम्बन्धमा काँग्रेसलगायत साना दलले हाल कायम समितिलाई यथावत् राख्नुपर्ने अडान राखेका छन् भने सत्तारुढ दलहरुले नयाँ संविधानअनुसार छरितो समिति गठन हुनुपर्ने अडान राख्दै आएका छन् ।
संसद् नियमावलीमा सहमतिका लागि पहल गर्न सभामुख घर्तीले यसअघि बिहीबार प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गरी पहल गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.