बेल्जियमबाट पाँचखालका भूकम्पपीडितलाई सहयोग

0

काभ्रे । पाँचखाल–११ रानीपानीका भूकम्पपीडितका लागि बेल्जियम बस्दै आएका दामोदरप्रसाद आचार्यको पहलमा सहयोग रकम जुटाइएको छ । ९० प्रतिशत घर भत्केर बस्न नहुने अवस्थामा पुगेपछि आर्थिक सहयोगबाट ३५ घरपरिवारले २ लाख ३९ हजार ६ सय १७ बराबरको एकएक बन्डल जस्तापाता सहयोगस्वरूप प्रदान गरिएको हो ।
बेल्जियमबाट २०७२ साल असार पहिलो साता आचार्यले आफ्नो तर्फबाट १ हजार ९ सय ५० र बाहिरबाट ३ सय ५५ गरी कुल २ हजार ३ सय ५ युरो आर्थिक सहयोग संकलन गरेका हुन् । उनले पाँचखाल रानीपानीमा बसोबास गर्ने उनका भतिज रामशरण आचार्यमार्फत सहयोग प्रदान गरेका हुन् । काभ्रे बनेपाबाट जस्तापाता खरिद र ढुवानी गरेर रामशरण आचार्यले पाँचखाल–११ रानीपानीका ३५ घरपरिवारलाई जस्तापाता वितरण गरेका हुन् ।
पाँचखाल नगरपालिका रानीपानी स्थित दामोदरप्रसाद आचार्यको जन्मघर पनि भूकम्पका कारण भत्किएर बसोबास गर्न योग्य छैन । १६ वर्षदेखि गम्भीर प्रकृतिको हृदयरोग तथा दुवै मिर्गौला रोगबाट ग्रसित भएका कारण बेल्जियममा उपचाररत अवस्थामै उनले सहयोग जुटाएका हुन् ।
आचार्यको आर्थिक अवस्था कमजोर भए पनि आफू नेपाल र नेपालीको पीडामा सँगै रहेको सन्देश उनले दिएका छन्् । ‘आफ्नो आर्थिक अवस्था साँघुरै भए पनि देशमा ठूलो विपद् आइपरेको छ, यस्तो अवस्थामा आफ्नो छाक कटाएर भए पनि सानो सहयोग गर्ने हामी दम्पतीले निर्णय गरेका हौं,’ उनले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
शारीरिक अस्वस्थताका कारण ‘लाइट फिजिकल’ कार्य गर्न मात्र अनुमति पाएका आचार्यले आंशिक कार्य गर्दै आएको जनाएका छन् । बेल्जियम हेभर्ली स्थित केयरसेन्टर होम भोगेल्जाङको डाइरेक्टरसँग सहयोग प्रस्ताव गरेपछि रिसेप्सनमा राखिएको सानो बक्समा एक महिनासम्ममा संकलित रकम २ सय ५५ युरो उनले नेपाल पठाएका हुन् ।
आचार्यले जन्मस्थलका भूकम्पपीडितलाई सहयोग गर्ने भन्ने जानकारी पाएपछि बेल्जियमको शाही परिवार लुभेनले पनि १ सय युरो सहयोगस्वरूप पत्नी शोभा आचार्यलाई बुझाएको थियो ।

Leave A Reply

Your email address will not be published.