हुम्लामा दम र रुघाखोकीबाट १६ को मृत्यु

0

हुम्ला । दम र रुघाखोकीका कारण गएको एक महिनाको अवधिमा यस जिल्लाका दुई गाविसमा मात्रै १६ जनाको मृत्यु भएको छ । उक्त रोगबाट जिल्लाको स्याडा गाविसमा नौ तथा राया गाविसमा सातजनाको मृत्यु भएको निमित्त जिल्ला जनस्वास्थ्य प्रमुख अमरदीप देवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रोगबाट ६० वर्षमाथिका वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
सदरमुकामदेखि करिब सात घण्टाको पैदलदुरीमा रहेका ती गाविसमा रोग फैलिएको जानकारी आएपछि सोमबार डा छवि बास्तोला नेतृत्वको चार सदस्यीय टोलीलाई औषधिसहित त्यसतर्फ पठाइएको निमित्त प्रमुख देवले जानकारी दिनुभयो ।
अहिलेसम्म प्रभावित क्षेत्रका २५० जना बिरामीको उपचार भइसकेको बताइएको छ ।
राससको जिज्ञासामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले भन्नुभयो – ‘‘के कारण मृत्यु भएको हो ? कुन भाइरसका कारण रोग फैलिएको हो ? भन्ने थाहा पाउन बिरामीको रगतको नमुना ल्याउने प्रयास भइरहेको छ ।” आज विमान उड्न नसकेका कारण भोलि मात्रै नमुनाको परीक्षण हुनसक्ने उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.