हतियारसहित भारतीय प्रहरी कैलालीमा

0

भीमदत्तनगर । सुदूरपश्चिमको पहाडी जिल्ला डोटीबाट हतियारसहित पक्राउ परेका पाँच भारतीय प्रहरी कञ्चनपुरको गड्डाचौकीनाकामा तीन दिनका लागि नेपाल घुम्न जान लागेको बहानामा भित्रिएको तथ्य खुलेको छ । शनिबार दिउँसो ३:२० मिनेटमा गड्डाचौकी भन्सारमा उनीहरु आफूहरुले प्रयोग गरेको भारतीय जिपको भन्सार राजस्व तिरेर नेपाल प्रवेश गरेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।
“नेपाल घुम्न जानका लागि भन्दै तीन दिनको राजस्व तिरेर प्रवेश गरेका छन्,” कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्नुभयो –“भन्सार तिर्नुपर्ने सामान उनीहरुसित केही पनि थिए ।”पञ्जाब प्रहरीका प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक र दुई जना हबल्दारसहित पाँच जना भारतीय बिबी १३ एच ००५९ नम्बरको जिप लिएर सादा पोसाकमा नेपाल प्रवेश गरेको भेटिएको छ । पञ्जाबमा चिकित्सक हत्याका आरोपितलाई खोज्दै हिँडेका उनीहरु अछामका एक स्थानीयवासीसँगै पाँचैजना प्रहरी आइतबार डोटीको सानागाउँ, चौखुट्टे क्षेत्रमा पक्राउ परेका थिए ।
उनीहरुले आफूहरु गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेको बताए पनि सीमा क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीले हतियार भित्र्याएको सुइँकोसम्म पाएनन् । “सबैभन्दा ठूलो गल्ती कञ्चनपुर प्रहरीको देखिएको छ,” एक प्रहरी अधिकारीले भन्नुभयो – “हतियारसहित चौथो जिल्ला पुग्दासम्म सुरक्षा निकाय सुतेरै बसेको जस्तो देखियो ।” पक्राउ परेका सवारी चालक भारतीय नागरिक गगन दीपसहित पाँचै जना भारतीय प्रहरीलाई आइतबार कैलालीको धनगढी पु-याइएको स्रोतले जनाएको छ ।
“भारतीय प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान थालिएको छ,” प्रहरी स्रोतले भन्यो – “यो घटनालाई निकै गोप्य राखिएको छ ।” पक्राउ परेका भारतीय प्रहरीबाट नेपाल प्रहरीले एके–४७ एक थान र एक थान पेस्तोल र दुवै हतियारमा लाग्ने ३७ राउन्ड गोलीसमेत नियन्त्रणमा लिएको छ । उनीहरु पक्राउ परेसँगै प्रहरीले घटनालाई सार्वजनिक गर्न चाहेको छैन । आइतबार घटनाबारे जानकारी लिन खोज्दा सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विजयकुमार भट्टले कुनै प्रतिक्रिया दिन मानेनन् ।
त्यसैगरी आज पनि उक्त घटनाका विषयमा सेती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद शर्मा घिमिरे पनि ‘डिआइजी सापबाट बुझ्नुस’ भन्दै घटनाबारे अनभिज्ञता प्रकट गर्नुभयो । अछाम जान लागेका भारतीय प्रहरीलाई जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोधराज ओझा नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.