कावा राजदूत शर्माको अवस्था सामान्य

0

साउदी अरब । छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ । छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझ डिस्चार्ज गरिएको दूतावासका द्वितीय सचिव विजय राउतले जानकारी दिनुभयो । राउतका अनुसार शर्माको काँध र मुखमा टाँका लगाइएको छ । उपचारपछि कावा राजदूत शर्माको अवस्था अहिले सामान्य रहेको उहाँले बताउनुभयो ।
शर्मालाई बिहीबार बिहान करिब ११ बजे दूतावासकै आश्रयमा बस्दै आएका सुनसरीका लक्ष्मणबहादुर राईले उहाँको कार्यकक्षमै गएर छुरा प्रहार गरेका थिए । शर्माको कार्यकक्षको ढोकाको चुकुल लगाएर सोफाले थुनेर आक्रमण गरिएको थियो । राई कार्यकक्षमा प्रवेश गरेर एक्कासि आक्रमण गर्न थालेपछि शर्मा चिच्याएका थिए । शर्मा चिच्याएको सुनेपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले ढोका तोडेर तुरुन्तै उहाँलाई उद्धार गरेको थियो ।
“तुरुन्तै उद्धार हुन नसकेको भए ठूलै घटना हुनसक्थ्योे”, राउतले टेलिफोनमा भन्नुभयो । छुरा प्रहारबाट घाइते भएका शर्मालाई तत्कालै उपचारका लागि रियादस्थित किङ फैसल अस्पतालमा पु-याइएको थियो । शर्मालाई आक्रमण गर्ने राई भने एक महिनाअघि देखि स्वदेश फिर्तीका लागि दूतावासकै आश्रयमा बस्दै आएका थिए । दूतावासका अनुसार मानसिक रोगी रहेका राईलाई केही दिन भित्रैमा स्वदेश पठाउने तयारी भइरहेको थियो ।
यसअघि राईलाई सबै प्रक्रिया पूरा गरेर स्वदेश पठाउनका लागि दुई पटक एअरपोर्ट लगिए पनि विभिन्न बहाना बनाएर स्वदेश फर्कन मानेका थिएनन् । राईले आफू कार्यरत कम्पनीकै भारतीय कामदारलाई समेत चक्कु प्रहार गरी भागेर दूतावासको सरणमा आएको राउतले बताउनुभयो । छुरा प्रहार गर्ने राईलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाएको बताइएको छ ।
भरत प्रधान

Leave A Reply

Your email address will not be published.