सुरक्षा रणनीतिमा पनि आमूल परिवर्तन गर्न जरुरी : गृहमन्त्री

0

इटहरी । पूर्वाञ्चल क्षेत्रको सुरक्षा रणनीति तयार पाने उद्देश्यले गृह मन्त्रालयले आजदेखि सुनसरी जिल्लाको धरानमा दुईदिने सुरक्षा बैठक सुरु गरेको छ । पूर्वी नेपालका १६ वटै जिल्ला प्रशासन प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको बैठकले पछिल्लो अवस्थामा देखिएको सुरक्षा चुनौती र त्यसको समाधानका उपायका विषयमा विस्तृत छलफल गरेर सुरक्षा रणनीति तयार पार्ने छ ।
बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतलेसमयको परिवर्तनसँगै सुरक्षा रणनीतिमा पनि आमूल परिवर्तन गर्न जरुरी रहेको औँल्याउँदै मुलुकमा अशान्ति सिर्जना गर्ने र संविधानलाई कार्यान्वयन गर्न नै नदिने केही राजनीतिक समूहको सक्रियता बढिरहेको अवस्थामा त्यसलाई चिर्दै मुलुकलाई शान्तिसुरक्षाको गतिलो प्रत्याभूति दिलाउँदै देशलाई आर्थिक सम्पन्नातिर लैजान सबै राजनीतिक दलले हातेमालो गर्न जरुरी रहेकामा जोड दिनुभयो ।
मुलुकमा अशान्ति र अस्थिरता सिर्जना गरेर नेपालीको स्वतन्त्र विकास हुने अधिकारप्रति कसैले पनि अवरोध सिर्जना गर्न खोज्नु सह्य नहुने स्पष्ट पार्दै गृहमन्त्रीले यही विषयलाई गम्भीरतापूर्वक लिएर निचोड निकाल्न सहभागीलाई आग्रह गर्नुभयो ।
गृहसचिव नारायणगोपाल मलेगोले बैठकमा पूर्वाञ्चलका १६ वटै जिल्लाका प्रजिअले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाका विषयमा प्रतिवेदन सार्वजनिक गर्ने र त्यसमाथि विस्तृत छलफल गरेर कस्तो सुरक्षा रणनीति कार्यान्वयनमा ल्याउँदा सुरक्षा अवस्था चुस्त र शान्ति स्थापना सम्भव हुन्छ भन्ने विषयमा सबै केन्द्रित हुनु नै बैठकको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
गृह मन्त्रालयका सहसचिव यादवप्रसाद कोइरालाले सुरक्षाजस्तो गम्भीर विषयलाई कसैले आन्दोलनका नाममा मजाक उडाउने र नागरिकले उपभोग गर्न पाउनुपर्ने अधिकार उपभोग गर्न अवरोध पु-याउने कार्यप्रति गृह प्रशासन गम्भीर छ भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.