साझा प्रकाशन डुबेको सुन्दा स्रष्टाका आँखामा आँसु…

0

काठमाडौं । “एक शताब्दी समय पार भएको साझा प्रकाशनले लेखकलाई ठगेको छैन तर यसमा के दुर्दसा प¥यो, यो किन टाट पल्टियो ?” आठ वर्षपछि पहिलोपटक साधारणसभा भइरहँदा प्रकाशनको पुल्चोकस्थित परिसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले गरेको प्रश्न हो यो ।
आफ्नो जीवनको पहिलो जागिर नै सो प्रकाशनबाट प्रारम्भ गर्नुभएका राष्ट्रकवि घिमिरे मात्र होइन उहाँजस्ता मूर्धन्य र वरिष्ठ स्रष्टाको भावना जोडिएको सो संस्था अहिले इतिहासकै गम्भीर मोडमा उभिएको छ ।
करिब रु ४० करोड घाटाको भार बोकेर संस्था राज्य र अन्य क्षेत्रबाट संस्था बचाउका लागि गुहार मागिरहेको छ, संस्थालाई यो अवस्थामा ल्याउने पक्षको खोजी गरिरहेको छ । २३औँ साधारण सभामा सहभागी अंशियारका विभिन्न प्रतिक्रिया सुनेपछि संस्कृतिविद् सत्यमोहन जोशी र वरिष्ठ साहित्यकार वैरागी काइँलालाई साक्षी राख्दै घिमिरेले साझाको स्तरीयता खस्केको, यसको पाठ्यपुस्तक वितरणको मुख्य काम खोसिएको र बचाउनका लागि सरकारले सहयोग नगरेकामा चिन्ता व्यक्त गर्नुभयो ।
कतिपय सदस्यले यसको भौतिक सम्पत्ति बेचेर भए पनि संस्था बचाउनुपर्ने र कर्मचारीको आठ महिनाको बक्यौता तलब दिनुपर्ने सुझाए पनि घिमिरे त्यसका पक्षमा देखिनु भएन । उहाँले भन्नुभयो– “सम्पत्ति खाएर जानेले संस्था चलाउन सक्दैन । केही व्यक्तिको स्वार्थका कारण संस्था यो अवस्थामा पुगेको हो । वर्तमान व्यवस्थापनले निश्चित कार्यदिशाका साथ अघि बढ्नुपर्छ । शिक्षा र भाषाका संस्थालार्ई राज्यले बचाउनुपर्छ ।”
आर्थिक सङ्कट व्यहोरिरहेको प्रकाशनले आफ्नो व्यावसायिक क्षमता बढाउँदै पछिल्लो समयमा सबै बिक्री केन्द्र र प्रेस सञ्चालनमा ल्याए पनि पुस्तक बिक्रीका भरमा तलब खुवाउन सकेको छैन । सरकारसँग सहुलियत ऋण पाउन प्रधानमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्रीदेखि धेरैतिर धाए पनि उपलब्धि हात पारेको छैन ।
कुनै उपाय नभएमा संस्था विघटन (स्वतः मरण) को अवस्थामा पुग्ने खतरा व्यवस्थापकले आँैल्याएपछि सदस्यले त्यसको विकल्प खोजेर संस्था उठाउन दबाब दिएका छन् । कतिपयले संस्था मर्न लाग्यो भन्दा आफ्नो आँखामा आँसु आएको बताए ।
उनीहरुले मर्नका लागि केही नगरे पनि संस्था मर्ने भएकाले बचाउनका लागि ल्याउने योजनामा आफूहरु हातले मात्र होइन टाउकाले पनि हस्ताक्षर गर्न तयार रहेको जनाउ दिएका छन् । उनीहरुले पहिलापहिला साझामा पुस्तक छाप्नु गौरवको विषय बने पनि अहिले व्यक्तिगत सम्पर्कका कारण प्रकाशनको क्रम चलेकाले स्तर खस्केको गुनासो गरेका छन् ।
साथै राजनीतिक हस्तक्षेप र भागबन्डा, सरकारी पाठ्यपुस्तक वितरण निजी क्षेत्रलाई दिइनु पनि समस्याको विषय भएको सभाले ठहर गरेको छ ।
लेखक खगेन्द्रप्रसाद लुइँटेल, डा बमबहादुर थापा ‘जिताली’, कृष्णप्रसाद घिमिरे, रामदेव पाण्डे, नरेन्द्रबहादुर श्रेष्ठ, तुलसी न्यौपाने, प्रतीक ढकाल, आरसी न्यौपाने संस्था सुधारका लागि सुझाव दिनुभएको थियो ।
विगतमा देखिएका आर्थिक अनियमितताको छानबिनको प्रतिवेदन र आठ वर्षसम्मको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न अंशियारले माग गरेका छन् । प्रकाशनका अध्यक्ष महाप्रन्बधक डोलिन्द्रप्रसाद शर्माले सडकमा पुगिसकेको संस्थालाई आफूहरुले अस्पतालमा ल्याएर उपचार गरिरहेको भन्दै संस्था डुबेको नभई डुबाइएको दाबी गर्नुभयो ।
उहाँले छ महिनाभित्र विशेष साधारणसभा गरी यसबीचको लेखा परीक्षण र अनियमितता छानबिनको प्रतिवेदन सावर्जनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
तत्कालीन सरकारले विसं १९७० मा नेपाली भाषाको संरक्षण र प्रवद्र्धनका लागि स्थापना गरेको गोरखा भाषा प्रकाशिनी समिति सहकारी ऐनअन्तर्गत २०२१ मा साझा प्रकाशनमा रुपान्तरण भएको हो । २०२३ सालमा पुस्तक प्रकाशनमा आरम्भ गरेको साझाले प्रकाशित गरेका विभिन्न १२ वटा पुस्तकले मदन पुरस्कार पाइसकेका छन् ।
विसं २०६० पछि साझाले बिक्री वितरण गर्दै आएको विद्यालयस्तरका पाठ्यपुस्तक निजी क्षेत्रलाई दिने नीतिगत व्यवस्था गरिएपछि विस्तारै साझा प्रकाशन कामविहीन भएको हो ।

सञ्चालक सदस्यको मतदान
सभामा संस्थामा रिक्त अंशियारतर्फका तीन सञ्चालक सदस्य पदका लागि आज निर्वाचन भएको छ । निर्वाचनमा डा विजय सुब्बा, जीवनचन्द्र कोइराला, हरिहर खनाल र मनोहर लामिछाने उम्मेदवार हुनुहुन्छ । कुल एक हजार ५५४ मतदाता रहेको संस्थामा साँझ ५ बजेसम्मका लागि तोकिएको समयमा ५३५ ले मतदान गरेका छन् । मतदान सकिएपछि आजै गणना सुरु भएको छ । साधारणसभामा करिब ७०० को उपस्थिति थियो ।
प्रकाशनका अन्य चार सञ्चालक सदस्य एक वर्षअघि शिक्षा मन्त्रालयबाट मनोनयन भएका थिए । राष्ट्रकवि घिमिरेलगायत पूर्वमन्त्रीहरु प्रदीप नेपाल, दिनानाथ शर्मा, राधाकृष्ण मैनाली, केशव बडाल, रघुजी पन्त, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, निनु चापागाईंलगायतले पनि साधारणसभामा भाग लिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.