यस्तो छ– काँग्रेस संसदीय दलका नेता देउवाको जीवनी

0

नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ । बाल्यकालदेखि नै राजनीतिमा चासो राख्नुहुने नवनिर्र्वाचित संसदीय दलका नेता देउवा पार्टी संस्थापक नेता बिपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिनुभएको थियो ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकार अपदस्थ गरिएपछि नेता देउवा काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेपाल विद्यार्थी सङ्घका संस्थापक सभापति हुनुहुन्छ ।
त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ । पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेवी देउवाका जेठा छोरा सभापति देउवाको एक छोरा हुनुहुन्छ । उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा पनि हाल व्यवस्थापिका–संसद्को सदस्य हुनुहुन्छ ।
नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट अधिक मतान्तरमा निर्वाचित हुनुभयो । विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा पनि डडेल्धुरा र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले विसं २०४८ देखि २०५१ सम्म गृहमन्त्री एवम् तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
यसअघि विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उहाँ पहिलोपटक काँग्रेस संसदीय दलको नेता निर्वाचित हुनुभएको थियो । विसं २०५१ मा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिस्ट सरकार विसं २०५२ मा ढलेपछि उहाँ पहिलोपटक नेपालको प्रधानमन्त्री बन्नुभएको थियो । विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री हुनुभएका देउवा २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन असक्षम भनी प्रधानमन्त्री पदबाट बर्खास्त हुनुभएको थियो ।
बर्खास्त भएको दुई वर्षपछि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पुनः प्रधानमन्त्री बनाइनुभएका नेता देउवा २०६१ माघ १९ गते प्रधानमन्त्री पदबाट बर्खास्ती भई नजरबन्दमा पर्नुभएको थियो । राजा ज्ञानेन्द्रको यो कदमपछि संसदीय राजनीतिमा सक्रिय राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा(माओवादी)बीच सहकार्यको वातावरण बनेको थियो ।
विसं २०५९ जेठ ८ मा संसदीय दलको नेता एवम् प्रधानमन्त्री रहेका बेला नेता देउवाले संसद् विघटन गरेपछि काँग्रेस विभाजन भएको थियो । काँग्रेसको विभाजनपछि उहाँ नेपाली काँग्रेस (प्रजातान्त्रिक)को सभापति बन्नुभएको थियो । काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को विसं २०६३ मा एकतापछि उहाँ नेपाली काँग्रेसको वरिष्ठ नेता हुनुभयो ।
उहाँ विसं २०५६ मा काँग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गठन गरेको माओवादी समस्या समाधान उच्चस्तरीय समितिका अध्यक्षसमेत हुनुहुन्थ्यो ।
प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेवि सङ्घका प्रथम सभापति हुनुहुन्छ र सुदूरपश्चिममा काँग्रेसका प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ ।
देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ । काँग्रेसको १३ औँ महाधिवेशनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति पदमा विजयी हुनुभएको थियो ।
यसअघि पार्टीको १०औँ महाधिवेशनमा नेता गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा नेता सुशील कोइरालाबाट समेत देउवा पार्टी सभापति पदमा पराजित हुनुभएको थियो ।
पार्टी संसदीय दलको नेतामा पनि विसं २०५६ नेता भट्टराईले राजीनामा दिएपछि तत्कालीन सभापति गिरिजाप्रसाद, पहिलो संविधानसभा निर्वाचनपछि तत्कालीन उपसभापति पौडेल र दोस्रो संविधानसभा निर्वाचनपछि सभापति सुशील कोइरालाबाट नेता देउवा पराजित हुुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.