प्रवासीसँगको साझेदारीमा विकास आयोजना सञ्चालन

0

म्याग्दी । जिल्ला विकास समिति म्याग्दीले प्रवासीसँगको साझेदारीमा विकास योजना सञ्चालन गर्न सुरु गरेको छ । जिल्लाको भौतिक पूर्वाधार, सामाजिक, आर्थिक विकासका लागि प्रवासीले गर्दै आएको सहयोगलाई संस्थागत र व्यवस्थित गराउन साझेदारी सुरु गरेको हो । पहिलो चरणमा इन्टरनेट सेवा विस्तारको आयोजनामा प्रवासीसँग सहकार्य सुरु गरेको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।
रोजगारी, अध्ययन र पेसा व्यवसायको सिलसिलामा विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरु आबद्ध प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) अन्तर्राष्ट्रिय समन्वय परिषद् र जिविसबीच भगिनी सम्बन्ध स्थापित गरी विकासमा साझेदारी गर्ने नीतिगत व्यवस्था गरिएको छ ।
पहिलो चरणमा म्याग्दीको सबै गाविसमा इन्टरनेट सेवा विस्तार गर्न मोनामार्फत आर्थिक स्रोत जुटाउन सुरु गरिएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो । रु चार करोड लागत अनुमान गरिएको म्याग्दीको सबै गाविसमा इन्टरनेट सेवा विस्तार आयोजनाका लागि जिविस र मोनाबीच हालै आर्थिक स्रोत जुटाउने लिखित सम्झौता भएको छ ।
ग्रामीण दूरसञ्चार प्राधिकरण कोषले रु दुई करोड उपलब्ध गराउने उक्त नमुना आयोजनामा प्रवासी र जिविसले थप रु दुई करोड जुटाउने सम्झौता भएको हो । यसैगरी बिमको नराले हुँदै मराङको बेँसी जोड्ने निर्माणाधीन सडकमा पनि जिविस, गाविस र प्रवासीबीच साझेदारी भएको छ । उक्त आयोजनाका लागि प्रवासीले रु ८४ लाखभन्दा बढी सहयोग जुटाएका छन् ।
मोना अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष योगेन्द्र क्षेत्रीले जिविसको निर्णयले प्रवासीहरुलाई उत्साहित बनाएको बताउनुभयो । सरकारी निकायसँग साझेदारी गर्दा प्रवासीले जिल्लाको विकासमा भित्र्याउने लगानी थप बढ्ने र व्यवस्थित बन्ने अध्यक्ष क्षेत्रीको भनाइ छ ।
मोनाको तथ्याङ्कअनुसार विद्यालयको स्तरोन्नति, सडक निर्माण गर्न, लघुजलविद्युत्, सामुदायिक भवन, एम्बुलेन्स सेवा तथा गरिबीका कारण उपचार गर्न नसकेका र प्राकृतिक प्रकोपबाट प्रभावित भएकाहरुलाई पछिल्लो तीन वर्षयता रु तीन करोडभन्दा बढी सहयोग भित्रिएको छ । बेलायत, बेल्जियम, हङ्कङ, दक्षिण कोरिया, कतार, जापानलगायतका देशमा रहेका म्याग्देली सम्बद्ध संस्थाहरुबाट उक्त सहयोग भित्रिएको मोना म्याग्दीका निवर्तमान अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.