मधेसका समस्या समाधान गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

0

उर्लाबारी । पूर्वराष्ट्रपति डा रामवरण यादवले मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई सुझाव दिनुभएको छ । उहाँको निजी सचिवालयले आज बिहान मोरङको विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा यादवले लोकतन्त्रमा विश्वास गर्नेहरुले मधेसका समस्या समाधनमा ध्यान दिनुपर्ने बताउनुभयो । “लोकतान्त्रिक विधिबाट बनेको सरकार संयम भएर अघि बढ्नुपर्छ,” गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भन्नुभयो, “आन्दोलनकारी पनि लोकतान्त्रिक विधिबाट चलन सक्नुपर्छ ।”
उहाँले आन्दोलनका नाममा मधेसलाई अलग बनाउने सपना नदेख्न आग्रह पनि गर्नुभयो । यादवले सदियौँदेखि कामय रहेको मधेस र पहाडबीचको सुमधुर सम्बन्ध कायम राख्दै सिङ्गो नेपाललाई एक ढिक्का बनाएर लैजाने विषयमा ध्यान दिनुको विकल्प नभएको बताउनुभयो ।
लामो समयको मधेस आन्दोलनका कारण मुलुकको अर्थतन्त्र जर्जर बनेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यादवले मुलुकलाई समृद्ध बनाउने दिशामा केन्द्रित हुन पनि सबैलाई आह्वान गर्नुभयो । प्रजातन्त्रमा विश्वास गर्नेहरुले संविधान कार्यान्वयनलाई विशेष ध्यान दिए मुलुकमा राजनीतिक स्थिरता कायम हुने उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.