सरकारको नेतृत्व लिने हतारमा छैनौं : देउवा

0

काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सरकारको नेतृत्व लिन हतारमा नरहेको टिप्पणी गर्नुभएको छ । सभापतिमा निर्वाचित हुनुभएका देउवालाई बधाई तथा कार्यकालको शुभकामना दिन रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा देउवा निवास पुगेको सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “सरकारको नेतृत्व लिन हतारमा छैनौं ।”
“सरकार आफ्नै बोझले ढल्छ, हामी विपक्षीको भूमिका खेल्न चाहन्छौँ किनभने प्रजातन्त्रमा विश्वास गर्नेले बलियो विपक्षी भएको खण्डमा प्रजातन्त्र फस्टाउँछ, फुल्छ, कसैमाथि अन्याय हँदैन, विपक्षी बलियो भएन भने त्यहाँ तानाशाही हुन्छ भन्ने तथ्य बुझ्न आवश्यक हुन्छ”– सभापति देउवाले भन्नुभयो ।
आवश्यकता र परिस्थितिले माग गरेको खण्डमा राष्ट्रिय सरकार नबन्ने भन्ने होइन भन्दै सभापति देउवाले प्रजातन्त्रको सुन्दर पक्ष भनेको शक्ति सन्तुलन हो, त्यसका लागि पनि नेपाली काँग्रेस विपक्षमा बस्नुपर्छ भन्नुभयो । पार्टीको सिद्धान्त, नीति र आदर्शलाई आत्मसात् गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र बहुदलीय व्यवस्थालाई कसैले कमजोर बनाउन नदिने कामलाई प्राथमिकता राख्ने उहाँको भनाइ थियो । लोकतन्त्रको स्थायित्व, संविधानको कार्यान्वयन, प्रदेशको सीमाङ्कनलगायत मधेसका मुद्दा सम्बोधनमा पनि विशेष ध्यान पु¥याउने उहाँको बताउनुभयो ।

सभामुखलाई फसाइयो
न्याय परिषद्बाट न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न पठाएको पत्र सभामुखबाट फिर्ता पठाएको विषयमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्ने जानकारी उहाँले दिनुभयो ।
उहाँले भन्नुभयो – “अत्यन्त सम्मानित पद भएकाले सभामुखले त्यस्तो हस्तक्षेप गर्न हुँदैन, त्यो गर्ने नै होइन । बरु सुनुवाइ समिति बनाएर छिटो काम गरेको भए हुन्थ्यो । कसलाई चित्त बुझ्छ-बुभ्दैन समितिले छिनोफानो गरिहाल्छ नि । सभामुख विवादरहित र असल मान्छे हुनुहुन्छ, कसैले फसाइदियो जस्तो लाग्छ ।”

सबैलाई समेटेर लान्छु
नेपालमा लोकतन्त्र स्थापनाका लागि २००७, २०४६ र २०६२-६३ सालमा भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको ऐतिहासिक पार्टीको सभापतिको जिम्मेवारी सम्हाल्न पाएकामा आफूलाई अत्यन्त गर्व, सम्मानित र जिम्मेवारी बोधको महसुस गरेको बताउँदै उहाँले भन्नुभयो – “सबैलाई नमिलाउने हो भने केका लागि सभापति ?”
सभापति देउवाले भन्नुभयो – “म पार्टीको सभापति हुँ । सबै नेता तथा कार्यकर्तालाई निर्धक्क भएर कुरा राख्ने अधिकार छ । सबैले गुनासो र अन्याय भएको कुरा राख्न पाउँछन् । कसैलाई पनि काखा र पाखा गर्दिनँ । चिन्ता गर्ने काम छैन ।”
तीनपटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै उहाँले भन्नुभयो – “भर्खरै पार्टी सभापति भएँ । मैले काँग्रेसबाट धेरै कुरा पाइसकें । अब पार्टीलाई एकीकृत गरेर लैजाने, मिलाउने, चुनौतीको सामना गर्ने मेरो काम हो । शान्ति र प्रजातन्त्रलाई बलियो तुल्याएर देशलाई समृद्धिको दिशामा लैजाने काममा सहयोग पु-याउन सबैलाई आह्वान गर्दछु ।”

छिमेकीसँग राम्रो सम्बन्ध राख्नुको विकल्प छैन
साथी बदल्न सक्छौँ तर छिमेकी बदल्न सक्दैनौँ भन्ने तथ्यलाई ध्यान पु-याएर छिमेकीसँग राम्रो सम्बन्ध राख्नुबाहेक अर्काे विकल्प नरहेको उहाँले बताउनुभयो ।
राष्ट्रको हितमा छिमेकी भारतसँगको विगतको चिसोलाई हटाएर सम्बन्धमा सुधार ल्याउने र चीनसँगको सम्बन्ध बढाउने पक्षमा आफू रहेको बताउँदै सभापति देउवाले भन्नुभयो – “छिमेकी दुई देशका चिन्ता र जायज चासोलाई पनि सम्बोधन गर्न आवश्यक छ ।” भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणका लागि दाता मुलुकले आफ्नो करबाट पठाएको रकम पीडितको आवास निर्माणमा उपयोग गर्न नसकेर फिर्ता हुने अवस्था सिर्जना गर्न नहुने उहाँको भनाइ थियो । प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले जनताको हितमा आफूले सरकारमाथि दबाब सिर्जना गर्ने विश्वास पनि उहाँले दिलाउनुभयो ।

Leave A Reply

Your email address will not be published.