विमान दुर्घटना स्थलबाट १९ जनाको शव फेला

0

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा विमानमा सवार सबै २३ जनाको मृत्यु भएको छ । विमान म्याग्दीको दाना गाउँ विकास समिति वडा नम्बर १ स्थित सोलीघोप्टे भीरमा फेला परेको छ भने यात्रुका शव जलेको अवस्थामा यत्रतत्र छरिएको अवस्थामा रहेको म्याग्दीका प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए ।
हालसम्म १९ जनाको शव संकलन गरिए पनि प्रतिकूल मौसमले गर्दा तत्कालका लागि शव संकलनको काम रोकिएको प्रहरीले जनाएको छ । मौसम खराब भई हिमपात सुरु भएपछि शव संकलनमा खटिएका सेना तथा प्रहरी फर्किएको र भोलि पर्वतारोहीहरु समेत लिएर घटनास्थल जाने पोखरा विमानस्थलका प्रमुख दीपक बरालले जानकारी दिए ।
दुर्घटना स्थल झण्डै २० हजार फिटको उचाइमा रहेको र ठाडो भीर रहेको जनाइएको छ । दुर्घटनामा परी चालक दलका सदस्य क्याप्टेन रोशन मानन्धर, को–पाइलट विकेश नेम्कुल र एअर होस्टेस रमा राउत र २० जना यात्रुको मृत्यु भएको हो । आज विहान पौने ८ बजे पोखराबाट उडेको विमान म्याग्दीको घोडेपानीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको थियो ।
उद्दारका लागि जोमसोमबाट नेपाली सेनाको एउटा हेलिकोप्टर परिचालन गरिएको तथा पोखराबाट पनि निजी हेलिकोप्टर परिचालन गरिएको थियो । यता तारा एअरले भने पोखरा र जोमसोमको मौसम अनुकूल रहेकाले कन्ट्रोल टावरबाट उडान अनुमति पाएपछि बिहान सात बजेर ५० मिनेटमा विमान उडेको जनाएको छ । क्यानडाको भाइकिङ कम्पनीमा निर्मित अत्याधुनिक प्रविधि जडित विमान हालै मात्र नेपाल ल्याइएको दावी तारा एअरका प्रवक्ता भीमराज राईको छ ।

Leave A Reply

Your email address will not be published.