भारतले ७० प्रतिशत मात्र इन्धन दिने

0

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेशनले मागेजति इन्धन नदिनुको कारणबारे भारत गएरै जानकारी लिने भएको छ । भारतीय आयल निगमका अधिकारीसँग कुरा गर्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र गुणस्तर विभागका निर्देशक करुणा क्षेत्री आज भारत जानु भएको छ । भारतीय उच्च तहबाट नेपालले मागेजति इन्धन दिने भनिएपनि ७० प्रतिशतमात्रै इन्धन दिइरहेकाले यसबारे बुझ्न खड्का भारत जान भएको हो । माथिको निर्देशन भन्दै भारतीय आयल कर्पोरेशनले अहिले निगमले पठाएका सबै ट्याङ्कर र बुलेटलाई लोड दिएको छैन । कार्यकारी निर्देशक खड्काले माग अनुसार इन्धन नदिने हो भने बिकल्प खोज्नेबारे पनि कुराकानी गर्ने निगमका निर्देशक दीपक बरालले  जानकारी दिनुभयो । ‘नाकाबन्दी खुल्यो भनिएको छ, तर पर्याप्त आपूर्ती नहुँदा बजारमा  मागअनुसार इन्धन पठाउन सकिएको छैन, बरालले भन्नुभयो, प्रधानमन्त्रीको भ्रमण पनि सकियो, तैपनि लोडिङ सहज हुन सकेको छैन ।’ यहि अवस्था रहिरहे उपभोक्ताले सजिलै इन्धन पाउन अझै केही समय लाग्ने बरालले बताउनुभयो । सरकारले तेल वितरणमा लगाएको कोटा प्रणाली पनि हटाएको छ भने ग्यास पनि भरि सिलिण्डर बिक्री सुरु भएको छ । आपूर्ती नबढ्दै गरिएको यो निर्णयले थप समस्या निम्तन सक्ने निगमका अधिकारीहरुको भनाई छ ।

Leave A Reply

Your email address will not be published.