पार्टी सभापतिका लागि सक्षम छु : महामन्त्री सिंह

0

नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू सक्षम भएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घले आज यहाँ आयोजना गरेको नेपाली काँग्रेस काठमाडौँका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिको बधाई तथा सम्मान कार्यक्रममा पार्टी फुट्दा उपसभापति र सुशील कोइराला सभापति हुँदा निर्वाचित महामन्त्री भएकाले आफू अब पार्टी सभापतिका लागि सक्षम भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “मैले पनि पार्टीमा धेरै दुःख गरेको छु त्यसैले म पार्टी सभापतिका लागि सक्षम छु ।”उहाँले सभापतिका लागि देशभरका कार्यकर्ताबाट दबाब आए पनि केही दिनपछि मात्र उम्मेदवारी घोषणा गर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले पार्टीको आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र एकता हुन नसके राजनीतिक दुर्घटना हुन्छ यसले नेपाली काँग्रेस र अन्य पार्टीलाई समेत असर गर्छ ।”
उहाँले पार्टी एकताका लागि आफू अभिमन्यु बन्न तयार रहेको समेत स्पष्ट पार्नुभयो । कोइरालाले अबको महाधिवेशनले व्यक्ति र पैसाभन्दा विचार बोकेको नेतृत्व छान्न आग्रह गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लोकतन्त्र र प्रजातन्त्र खतरामा पर्दै गएको भन्दै आगामी महाधिवेशनले सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा, राजन केसी, ध्यानगोविन्द रञ्जित, दीपक कुइँकेललगायतले पार्टीभित्र देखिएको भागबन्डाको राजनीतिक आगामी १३औँ महाधिवेशनले अन्त्य गर्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.