सुशीलको नेतृत्वमा बनायौँ संविधान : समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान

0

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १३औँ महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान : समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारा तय गरेको छ । कांग्रेसले महाधिवेशनको तयारीका लागि गठन गरेको प्रचारप्रसार समितिको बैठकले सो नारा तय गरेको हो । कांग्रेसका स्व सभापति सुशील कोइराला नेतृत्वको सरकारको सक्रियतामा नै मुलुकको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको प्रसङ्गसहित कांग्रेस अब मुलुकको विकास र समृद्धितर्फ उन्मुख हुने नीतिलाई अँगाल्दै सो नारा तय गरेको समितिका संयोजक एवम् पार्टी प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले जानकारी दिए ।
समितिले महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थित र भव्य बनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ । बैठकले वरिष्ठ पत्रकार हरिहर विरहीको संयोजकत्वमा अभिलेख, तेजप्रकाश पण्डितको संयोजकत्वमा बुलेटिन, दामोदरप्रसाद दवाडीको संयोजकत्वमा प्रकाशन, कविर राणाको संयोजकत्वमा मिडिया सेन्टर, कृष्ण केसीको संयोजकत्वमा प्राविधिक, बद्री सिग्देलको संयोजकत्वमा वैदेशिक सम्पर्क र धर्मेन्द्र झाको संयोजकत्वमा विशेष स्मारिका उपसमिति गठन गरेको समितिका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य बद्री पाण्डेले बताए ।
उपसमितिमा संयोजकले आवश्यकता र विज्ञताअनुसार सदस्य मनोनयन गर्नेछन् ।
वरिष्ठ पत्रकार तथा नेपाल प्रेस युनियनका पदाधिकारी एवम् सदस्यसहितको छलफलमा समितिले महाधिवेशनको सूचना शीघ्र सञ्चारमाध्यमलाई सहज तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने र मिडिया सेन्टरलाई सुविधायुक्त एवम् व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ । समितिमा संयोजक रिजाल, सदस्य पाण्डेका साथै अन्य केन्द्रीय सदस्य अजयकुमार चौरसिया र सुरेन्द्रराज पाण्डे सदस्य छन् । कांग्रेसको १३औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.