कार्यदलको बैठकमा कुरा मिलेन

0

काठमाडौं । सीमाङ्कनको विषयमा प्रमुख दल सम्मिलित कार्यदल र मधेसी दल सम्बद्ध कार्यदलबीच आज छलफल भएको छ । छलफलमा सीमाङ्कनको विषय टुङ्ग्याउन राजनीतिक दल सम्मिलित समिति वा संयन्त्र बनाउन दल सहमत भए पनि त्यसको अधिकार क्षेत्रका विषयमा कुरा मिल्न नसकेको बैठकपछि नेताहरुले प्रतिक्रिया दिनुभयो । कार्यदलका सदस्य एवम् नेपाली काँग्रेसका नेता महेश आचार्यले सीमाङ्कनमा सुधारको आशा र अपेक्षा मोर्चाले गरेको बताउँदै समितिको अधिकार क्षेत्रका विषयमा कुनै नयाँ पदावलीको प्रयोगको कोशिस भइरहेको जानकारी दिनुभयो ।
उहाँले भोलि बिहान पुनः बैठक बस्ने गरी आजको छलफल टुङ्गिएको जानकारी दिँदै सहमतिको नजिक पुगेको जिकिर गर्नुभयो ।
कार्यदल सदस्य एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सीमाङ्कनको विषययमा तराई–मधेसमा दुई प्रदेश गराउने विषय सम्बोधन गर्न प्रयोग गरिने भाषा राजनीतिक संयन्त्रमा लेख्नुपर्छ भन्ने आफूहरुको अडान रहेको बताउनुभयो ।
उहाँले प्याकेजमा सहमति खोज्नुपर्ने बताउँदै प्रमुख दलले समस्या समाधान गर्न गम्भीर नरहेको जिकिर गर्नुभयो । आजको वार्तामा कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल, काँग्रेस नेता आचार्य, एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महरा, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँगै अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी नेतृत्वका दल सम्मिलित मधेसी गठबन्धनका नेतासमेत सहभागी हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.