एमालेमा विद्यार्थी चुनाव कसले मार्ला बाजी ?

0

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २२औैं महाधिवेशनलाई पार्टीका दुवै गुटले प्रतिष्ठाको विषय बनाएका छन् । विद्यार्थी संगठनको चुनावले दुवै पक्षका नेताहरूलाई पार्टीको चुनावभन्दा बढी तताएको छ । पार्टीमा संस्थापन पक्ष कमजोर बन्दै गएको र भ्रातृसंगठनका महाधिवेशनमा पराजित हुने डर अध्यक्ष केपी ओलीलाई छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले विद्यार्थी चुनाव जित्नैपर्ने निर्देशन आफूनिकट नेताहरूलाई दिएका छन् । पार्टी अध्यक्ष ओलीको निर्देशनअनुसार नै ओली पक्षका पूर्वविद्यार्थी नेताहरू खिमलाल भट्टराई, माधव ढुंगेलहरू मैदानमा ओर्लिएका छन् । विद्यार्थी संगठनको चुनाव जसरी पनि जित्नुपर्ने भन्दै ओलीले अध्यक्ष पदमा नवीना लामालाई सर्वसम्मत उम्मेदवार बनाइसकेका छन् । अध्यक्ष दाबी गर्दैआएका र कुनै हालतमा पछि नहट्ने मनस्थितिमा रहेका उपाध्यक्ष ऐन महरलाई महासचिवमा उम्मेदवार बन्न सहमत गराइएको छ । महासचिवका दाबेदार सचिव रश्मि आचार्य र महेश बर्तौलालाई उपाध्यक्षमा सेटल गरिएको छ । उम्मेदवार मिलाइसकेपछि एक सय ५० मतान्तरले लामाले जित्ने निष्कर्ष निकालिएको छ । देशभरबाट आएका प्रतिनिधिको संख्यालाई आधार मानेर यो निष्कर्ष निकालिएको दाबी ओली पक्षको छ ।
पार्टी महाधिवेशनपछि भएका १८ जिल्ला अधिवेशनमा ओली पक्षलाई १४ जिल्लामा पराजित गरेको वरिष्ठ नेता माधव नेपाल पक्ष पनि विद्यार्थीको महाधिवेशन जित्ने अभियानमा छ । विद्यार्थी संगठनको चुनावलाई पार्टीको संस्थापन पक्षविरुद्धको जनमत मापनको एक कडीका रूपमा पनि माधव नेपाल पक्षले लिएको छ । नेपाल समूहबाट पार्टीका पूर्वविद्यार्थी नेताहरू योगेश भट्टराई, ठाकुर गैरे, राजेन्द्र राई, रामकुमारी झाँक्री, जगन्नाथ खविवडाजस्ता केन्द्रीय नेताहरू विद्यार्थी चुनावमा दीपक गौतम नेतृत्वको समूहलाई जिताउन लागेका छन् । अखिलको चुनावमा जहिले पनि संस्थापन पक्ष हार्दै आएको इतिहास छ । खिमलाल भट्टराईका पालासम्म एमालेको विद्यार्थी संगठनको नेतृृत्व पार्टीले जसलाई भन्थ्यो, त्यही सर्वसम्मत चयन हुुन्थ्यो । तर एमाले–माले एकीकरणपछि ठाकुर गैरे चितवन महाधिवेशनमा तत्कालीन संस्थापन पक्षका उम्मेदवार यज्ञराज सुनुवारलाई दोब्बर मतले पराजित गरी अध्यक्ष भएका थिए । पोखरा महाधिवेशनमा रामकुमारी झाँक्रीले संस्थापन पक्षका उम्मेदवार गोकुल घर्तीलाई पनि दोब्बर मतले नै हराएकी थिइन् । त्यसपछि एमालेको अध्यक्ष झलनाथ खनाल भए । तर जनकपुरमा भएको महाधिवेशनमा झलनाथ खनालले समर्थन गरेका संस्थापन पक्षका अध्यक्षका उम्मेदवार सोभियत ढकाललाई माधव नेपाल–केपी ओली समूहका माधव ढुंगेलले पराजित गरेका थिए । झलनाथ नै अध्यक्ष रहेको बेला भएकोे २१ औं महाधिवेशनमा संस्थापन पक्षका लक्ष्मण लम्साललाई माधव–केपी समूहका किशोरविक्रम मल्लले हराएको नजिर छ । विद्यार्थी जहिले पनि सत्ता विरोधी हुने यही नजिरका आधारमा दीपक गौतम समूहले जित्ने निष्कर्ष माधव नेपाल पक्षका नेताहरूको छ ।

Leave A Reply

Your email address will not be published.