अन्तर्राष्ट्रिय समुदायद्वारा शोक व्यक्त

0

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, सोसलिस्ट इन्टरनेसनल र जापानले शोक व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उहाँ सबैका आदरणीय राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ ।
महासचिवका तर्फबाट उहाँका प्रवक्ताले आज जारी गर्नुभएको वक्तव्यमा महासचिव बानले जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गर्नुभएको बताउनुभएको छ ।
सहमति, समझदारीको भावनाबाट प्रेरित भएर नेता कोइरालाले नेपाली जनता र राजनीतिक दललाई एकताबद्ध गर्नुभएको स्मरण गर्दै महासचिव बानले त्यसबाट नेपालको प्रजातान्त्रिक प्रक्रिया र शान्ति प्रक्रियामा ठूलो योगदान पुगको बताउनुभएको छ ।
महासचिव बानले कोइराला परिवार र नेपाली जनतामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपाली काँग्रेसलाई आज एक समवेदना सन्देश पठाउँदै नेता कोइरालाको निधनबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको जनाउनुभएको छ ।
त्यसैगरी, यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले सङ्घका तर्फबाट शोक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कोइरालाले लामो राजनीतिक अनिश्चितताबाट नेपाललाई अगाडि बढाउनुभएको भन्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
नेता कोइरालाको इमान्दारी र दृढ प्रतिबद्धतापूर्ण सोचबाटै नेपालले नयाँ संविधान पाएको उल्लेख गर्दै उहाँले सन्देशमा नेपालको चौतर्फी विकास सुनिश्चित गर्न तथा द्विपक्षीय बाह्य कूटनीति प्रवद्र्धन गर्न उहाँमा स्पष्ट सोच थियो भन्नुभएको छ ।
सन्देशमा राजदूत टिरिङले युरोपेली सङ्घको उहाँ शुभचिन्तक हुनुहुन्थ्यो भन्दै नेता कोइरालाका परिवारजन, नेपाली काँग्रेस र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
यस्तै जापानले पनि नेता कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको लोकतान्त्रिकीकरण र संविधान जारी गर्न उहाँले निर्वाह गर्नुभएको ऐतिहासिक भूमिकाको स्मरण गरेको छ ।
नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जापान सरकार, त्यहाँका जनता र शोक सन्तप्त कोइराला परिवारमा हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.