ललितपुरमा क्षेत्रीय अधिवेशन सम्पन्न

0

ललितपुर । नेपाली काँग्रेसको १३औँ महाधिवेशनअन्तर्गत ललितपुरका तीनवटै क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा भाग लिन तीन वटै क्षेत्रका क्षेत्रीय प्रतिनिधिको उल्लेखनीय सहभागीता रहेको थियो । क्षेत्रीय अधिवेशनमा भाग लिन गत १५ गते सम्पन्न गाउँ÷नगर वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गरिएको थियो । यसैगरी १६ गते सम्पन्न नगर अधिवेशनबाट समेत क्षेत्रीय प्रतिनिधि चयन भएको थियो ।
काँग्रेस १ नं क्षेत्रीय अधिवेशन गोदावरीस्थित टौखेलमा सम्पन्न भएको निर्वाचन अधिकृत उद्योगप्रसाद तिमल्सिनाले बताउनुभयो । गाउँ÷नगर वडा तथा नगर अधिवेशनबाट गरी जम्मा ३१९ क्षेत्रीय प्रतिनिधिले भाग लिएको बताइएको छ ।
क्षेत्र नं १ मा क्षेत्रीय सभापतिका लागि राजनप्रसाद घिमिरे र ऋषिदेव फुयाँलबीच प्रतिस्पर्धा भएको छ । प्रत्यक्ष रुपमा छ जना महाधिवेशनका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको छ । यसैगरी नौ जना जिल्ला सदस्यका लागि १८ जनाविच प्रतिस्पर्धा भएको छ । एक जना जनजाति महाधिवेशन प्रतिनिधिका लागि दुई जनाबीच मैदानमा उत्रिएका छन् ।
यसैगरी बाँकी रहेका २ र ३ नं क्षेत्रमा पनि कडा प्रतिस्पर्धा भएको जनाइएको छ । क्षेत्रीय अधिवशेनमा भाग लिन ललितपुर उपमहानगरपालिका सहित बज्रबाराही, गोदावरी, कार्यविनायक र महालक्ष्मी नगरपालिकामा रहेका ९६ वटा वडाबाट क्षेत्रीय प्रतिनिधि चयन सम्पन्न भएका थिए । नगरपालिकाका प्रत्येक वडाबाट एक÷एक महिला र वडा सभापतिलगायत दुई जना प्रत्यक्ष रुपमा क्षेत्रीय प्रतिनिधि चयन भई आएको काँग्रेस जिल्ला सचिव रविन्स शर्माले बताउनुभयो ।
उपमहानगरपालिकाका हकमा भने एक वडा सभापतिसहित छ जना क्षेत्रीय प्रतिनिधि र गाउँ तहबाट न्यूनतम १० जना क्षेत्रीय प्रतिनिधि चयन हुने काँग्रेसको विधानमा उल्लेख छ ।
गाउँतहबाट आउने प्रतिनिधिमा दुई महिला, एक दलित, एक आदिवासी जनजाति, एक मधेसी, मुस्लिम, पिछडिएका, अल्पसङ्ख्यक र प्रत्यक्ष रुपमा चार जना प्रतिनिधि रहेका छन् ।
नगरपालिकाका तर्फबाट जम्मा ४४४ जना र १९ गाविसबाट १९० गरी नगर अधिवेशनबाट समेत गरी कुल ७०८ जना क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनमा भाग लिएको बताइएको छ ।
क्षेत्रीय अधिवेशनले एक सभापति, एक सचिव, एक कोषाध्यक्षसहित नौ जना क्षेत्रीय सदस्य गरी कुल १२ जना रहने समिति चयन गर्ने व्यवस्था रहेको छ । प्रत्येक क्षेत्रीय अधिवेशनले प्रत्यक्ष रुपमा छ जना महाधिवेशन प्रतिनिधि, जनजाति, दलित, अल्पसङ्ख्यक, महिलाबाट पाँच गरी ११ सदस्यीय महाधिवेशन चयन गरिने व्यवस्था रहेको छ । यसैगरी अधिवेशनले सात जना जिल्ला सदस्य चयन गरिने व्यवस्था रहेको छ ।

Leave A Reply

Your email address will not be published.