साउदीमा गतवर्ष २७७ नेपालीको मृत्यु

0

साउदी अरब । पछिल्लो समय नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य बनेको साउदी अरबमा दैनिक सरदर एक नेपालीको मृत्यु हुने गरेको छ । रियादस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार साउदीमा दैनिक औसत एक नेपालीको मृत्यु हुने गरेको देखिएको हो ।
दूतावासका अनुसार सन् २०१५ मा वैदेशिक रोजगारीका लागि साउदी अरब आएका २७७ नेपालीले विभिन्न कारणले ज्यान गुमाएका छन् । यसमा प्राकृतिक मृत्यु बढी देखिएकोे छ । दूतावासले दिएको यो तथ्याङ्क अघिल्लो वर्ष २०१४ को तुलनामा ४८ जनाले बढी हो । सन् २०१४ मा २२९ नेपालीले विभिन्न कारणले ज्यान गुमाएका थिए ।
सन् २०१५ मा ज्यान गुमाएकामध्ये सबैभन्दा बढी १४८ जनाको प्राकृतिक मृत्यु भएको थियो । यसमा हृदयाघात, मस्तिष्क पक्षाघात, ओछ्यानमै ज्यान जानेलगायत कारण रहेका छन् ।
यस्तै, सडक दुर्घटनाका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या पनि कम छैन । त्रिहत्तर जनाको सडक दुर्घटनामा परी ज्यान गएको छ भने ३२ को कार्यस्थलमै दुर्घटनामा परी मृत्यु भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै २१ जनाले आत्महत्या गरेका छन् । तीन नेपालीको विदेशी नागरिकबाट हत्या भएको दूतावासले जनाएको छ ।
ओछ्यानमै ज्यान जाने, हृदयाघात, मस्तिष्क पक्षाघातलगायत कारण बढी मात्रामा नेपालीको मृत्यु हुने गरेको पाइएको साउदीका लागि कावा राजदूत आनन्दप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार कामको प्रकृतिअनुसार सुरक्षा सर्तकता नअपनाउनु, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरापान गर्नु, वातावरणीय प्रतिकूलता, चेतनाको अभाव र सुरक्षा सर्तकता अपनाउन नसक्दा नेपाली कामदारको मृत्युदर बढेको हो ।
साउदीमा एकातिर नेपाली कामदारको मृत्युदर बढ्दो छ, भने अर्कोतर्फ मृत्यु भएका नेपालीको शव फिर्ता पठाउनसमेत महिनौँ लाग्ने समस्या रहेको छ । रोजगारदाताको बेवास्ता र यहाँको झन्झटिलो कानुनी प्रक्रियाका कारण ज्यान गुमाएका नेपालीको शव स्वदेश पठाउन ढिलाइ हुने गरेको बुझिएको छ ।
कावा राजदूत शर्माका अनुसार साउदीबाट कानुनी प्रक्रिया पूरा गरी शव फिर्ता पठाउन न्यूनतम तीन महिना लाग्ने भएका कारण शव पठाउन ढिलाइ हुने गरेको हो ।
दिन प्रतिदिन बढिरहेको नेपाली कामदारको मृत्युदर घटाउन सुरक्षा सर्तकता र सचेतना बढाउनुपर्ने देखिन्छ । त्यसैगरी ज्यान गुमाएका नेपालीको शव स्वदेश पठाउन हुने ढिलाइमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । साउदी अरबमा करिब पाँच लाख नेपालीहरु कार्यरत रहेको दूतावासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.