कांग्रेस महाधिवेशनमा होमियो, भोली गाउँ र नगरको अधिवेशन

0

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नो १३ औं महाधिवेशनमा होमिएको छ । भोली(शुक्रबार) १५ गतेदेखि कांग्रेसले देशभरका गाउँ र नगरपालिका इकाई कमिटीको अधिवेशन गर्दैछ । स्थानीयस्तरबाट प्रतिनिधि छान्दै सुरु हुने कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी फागुनमा हुँदैछ । निकै विवादित रहेको केही जिल्ला र स्थानका क्रियाशील सदस्यको नामावली स्थगनमा राखेर कांग्रेस स्थानीय अधिवेशनमा जुटेको हो ।
केही जिल्ला र स्थानका कांग्रेस समर्थकको नयाँ क्रियाशिल सदस्यता स्थगन गरेर पुराना नवीकृत सदस्यलाई मात्र मान्यता दिइएको छ । महाधिवेशनमा देशभरका चार लाख ७० हजार ६५५ क्रियाशील सदस्यले एकसाथ भाग लिँदै छन् ।
अघिल्लो १२औं महाविधेशनमा यो संख्या तीन लाख १३ हजार ८३६ मात्र थियो । जसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका हुन् ।
१३औं महाधिवेशनका लागि थप दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
अघिल्लो महाधिवेशनका करीब ६० हजार क्रियाशीलले यस पटक सदस्यता नवीकरण गरेनन् । विभिन्न देशमा रहेका काँग्रेसका नेपाली जनसम्पर्क समितिमार्फत प्राप्त निवेदनका आधारमा ११ हजार ७४ जनाले क्रियाशील सदस्यता पाएका छन् ।
भोलि गाउँ र नगरपालिका स्तरमा स्थानीय इकाई गठन तथा बुथ प्रतिनिधि चयन गरेपछि कांग्रेसले आगामी २२ गते क्षेत्रीय अधिवेशन गर्ने छ । क्षेत्रबाट महाधिवेशन प्रतिनिधिसहित क्षेत्रीय कमिटी गठन गरेपछि जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न गर्ने कांग्रेसले जनाएको छ । केन्द्रीय महाधिवेशन भने फागुन २० देखि २३ गते काठमाडौंमा सम्पन्न हुनेछ ।

Leave A Reply

Your email address will not be published.