काँग्रेसमा दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने

0

काठमाडौं । नेपाली काँग्रेसले केन्द्र र जिल्ला सभापतिमा निरन्तररुपमा दुई पदावधिभन्दा बढी हुनेगरी उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । तर पार्टी समायोजन हुँदा सहसभापति हुनेका हकमा भने यो व्यवस्था लागू हुने छैन । पार्टीको एघारौँ महाधिवेशनमा जिल्ला कार्यसमितिको एक कार्यकाल अवधि पूरा गरी बाह्रौँ महाधिवेशनमा पनि सभापति निर्वाचित भई अवधि पूरा गर्नेहरुका लागि पार्टीको विधानको धारा ४९ को उपधारा १७ को व्यवस्था लागू हुने पार्टी कार्यालयले जनाएको छ ।
विधानको धारा ४९ को उपधारा १७ मा पार्टीको केन्द्रीय कार्यसमितिको सभापति र जिल्ला कार्यसमितिको सभापतिमा निरन्तररुपमा दुई पदावधिभन्दा बढी हुने गरी उम्मेदवार हुन नपाउने प्रावधान छ । त्यस्तै पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज भएको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १३ औँ महाधिवेशन सम्पन्न गरी पार्टीको विधान कार्यान्वयन गर्न विधानको धारा ५० (बाधा अड्काउ फुकाउने अधिकार) बमोजिम विधानको धारा ४ को उपधारा १३ को व्यवस्था समेत निलम्बन गरेको छ ।
विधानको धारा ४ को उपधारा १३ मा “पार्टीको क्रियाशील सदस्यता जुनसुकै समयमा पनि प्रदान गर्न सकिनेछ । तर महाधिवेशनको मितिभन्दा एकवर्ष पहिलेसम्म क्रियाशील सदस्यता प्राप्त गरेको वा क्रियाशील सदस्यता नवीकरण गरेका व्यक्तिले मात्र पार्टीको निर्वाचनमा भाग लिन पाउनेछ । त्यस्ता सदस्यको नाम मात्र मतदान नामावलीमा समावेश गरिनेछ” भन्ने व्यवस्था रहेको छ ।
काँग्रेसको १३ औँ महाधिवेशनको सन्दर्भमा पार्टीको वडा, नगर, गाउँ तहका अधिवेशन यही माघ १५ गतेबाट प्रारम्भ हँुदैछन् । वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला अधिवेशन सम्पन्न गरी आगामी फागुन २०, २१, २२ र २३ गते पार्टीको तेह्रौँ महाधिवेशन काठमाडौँमा सम्पन्न हँुदैछ ।
शान्तिपूर्ण वातावरणमा पार्टीका यी सबै कार्यक्रम सम्पन्न गर्न सद्भाव र सहयोग पु-याउन आन्दोलनरतलगायत सबै राजनीतिक दलसँग बैठकले आग्रह गरेको छ । साथै, शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसँग अनुरोध गरेको पार्टी प्रवक्ता दीलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
काँग्रेसले आफ्नो नेतृत्वको सरकारको कार्यकालमा प्रस्तुत भएको संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदबाट परिमार्जनसहित पारित भएकामा खुसी प्रकट गरेको छ । साथै सीमावर्ती क्षेत्रका केही ठाउँमा आपूर्तिमा भएको अवरोध हटाउन सम्बन्धित सबै पक्षसँग काँग्रेसले आग्रह गरेको छ ।
काँग्रेसले भूकम्पबाट घरवारविहीन भई चिसोले कठ्याङ्ग्रिएर कष्ट भोगिरहेका जनताको उद्धारमा भइरहेको ढिलासुस्ती हटाउन सरकारसँग आग्रह गरेको छ । साथै पुनःनिर्माण कार्यमा एकतर्फी र अपारदर्शी ढङ्गले काम गर्ने सरकारको नीति र रवैयाको विरोध गरेको छ ।
बैठकले मुलुकमा व्याप्त महंँगी र कालोबजारी नियन्त्रण गर्न पूर्णतः उदासिन रहेकाले सरकारको यस गैरजिम्मेवार कार्यको समेत विरोध गरेको उहाँँले जानकारी दिनुभयो ।

क्रियाशील सदस्यको सूचीका त्रुटि सच्याइने
काँग्रेसले क्रियाशील सदस्यता नवीकरणको सूची र नयाँ क्रियाशील सदस्यको सूचीमा त्रुटि देखिएमा सच्याउने निर्णय गरेको प्रवक्ता बडूले जानकारी दिनुभयो ।
बैठकले क्रियाशील सदस्यता छानबिन समितिले प्रस्तुत गरेको पहिलो प्रतिवेदन, पुनःपरिमार्जन गरी पठाएको प्रतिवेदन र पदाधिकारी बैठकले गत पुस २७ मा गरेको निर्णयबमोजिम सूचीमा त्रुटि देखिएमा निर्वाचन समितिले प्राविधिक त्रुटि मानी सच्याई लागू गर्ने निर्णय गरेको छ ।
अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेसहितका सदस्यले काँग्रेसमा प्रवेश गर्न आवेदन गर्नुभएकोमा उहाँहरुलाई स्वागत गर्दै पार्टीमा प्रवेश गराउने निर्णय गरेको छ । त्यस्तै २००७, २०१८ र २०४६ को लोकतान्त्रिक आन्दोलनमा अनवरत सहभागी रहनुभएका हाल जनमैत्री अस्पतालमा उपचाररत स्वतन्त्रता सेनानी नारायणप्रसाद जोशीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कृष्णप्रसाद भट्टराईको नाम हटाउन खोजेकामा विरोध
काँग्रेसले विगत सरकारले स्थापना गरेको कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठानबाट नेपाल पत्रकार महासङ्घका प्रथम अध्यक्ष भट्टराईको नाम वर्तमान सरकारले हटाउन खोजेकोमा विरोध गरेको छ । सरकारको यस कार्यको विरोध गर्दै यथावत उहाँको नाम समावेश गर्न काँग्रेसले माग गरेको छ ।
विगतको संयुक्त सरकारकोपालामा सरकारबाट विभिन्न निकायमा नियुक्त भई कार्यरत व्यक्तिलाई पूर्वाग्रही ढङ्गबाट वर्तमान सरकारद्वारा बर्खास्त गरिएकोमा काँग्रेस बैठकले आपत्ति जनाएको छ ।
नियुक्तिको बाँकी अवधिसम्म पदमा बहाल गर्न आग्रह गर्दै काँग्रेसले निजामती सेवामा कार्यरत कर्मचारीलाई नियम विपरीत राजनीतिक पूर्वाग्रह राखी गरिएको सरुवा तत्काल सच्याई पूर्ववत्रुपमा खटिएको कार्यालयमा फिर्ता पठाउन सरकारलाई आग्रह गरेको प्रवक्ता बडूले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.