मोर्चाले आन्दोलन जारी राख्ने

0

काठमाडौं । संविधान संशोधनलाई नाटक भन्दै मधेसी मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ । मोर्चाको सोमबार राजधानीमा बसेको बैठकले एक पक्षीयरुपमा संविधान संशोधन गरिएको भन्दै नाका अवरोधसहितका आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
बैठकपछि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संशोधनले आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राख्ने बताए । यस्तै, सोमबारै संघीय समाजवादी फोरमले पनि सरकार र ठूला दलहरु जबर्जस्तीरुपमा अघि बढेको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
तराई मधेस केन्द्रित दलद्वारा बैठक बहिस्कार
व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमा नै नेपालको संविधानको पहिलो संशोधनप्रति असन्तुष्टि जनाउँदै तराई–मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाउनुभयो । आफ्नो आसनबाट उठेर उहाँहरुले विरोध जनाउनुभएपछि सभामुख ओनसरी घर्तीले सङ्घीय समाजवादी फोरम नेपालका सांसद डा शिवजी यादवलाई बोल्ने समय दिनुभयो ।
उहाँले प्रमुख दलको सहमतिमा गरिएको नेपालको संविधानको पहिलो संशोधनले तराई–मधेसको माग सम्बोधन गर्न नसक्ने बताउनुभयो । उहाँले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, पिछडा वर्गलाई कुनै अधिकार नदिने गरी गरिएको संशोधन आफूहरुलाई स्वीकार्य नभएको धारणा राख्नुभयो । संविधान संशोधनले तराई–मधेसको माग सम्बोधन गर्न नसक्ने धारणा राख्दै सांसद यादवले प्रमुख तीन दल मुलुकले भोग्नुपरेको कष्टप्रति जिम्मेवार नभएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.