वार्ता औचित्यहीन भयोः मोर्चा

0

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीले तीन दलद्वारा गठित वार्ता टोलीसितको वार्ता औचित्यहीन भएको भन्दै सो वार्ता टोलीसित वार्तामा नबस्ने जनाएको छ । सो वार्ता टोलीले नेपालको संविधान जारी गर्ने समयकै जस्तो हठ सरकारी वार्ता टोलीले देखाएको हुँदा अबको वार्ता मोर्चामा आवद्ध राजनीतिक दलका शीर्ष र तीनदलका शीर्ष नेतृत्वका तहमा हुने जनाएको छ । मोर्चाद्वारा गठित टोलीले तराई–मधेस लोतान्त्रिक पार्टीको कार्यालय बिजुली बजारमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा तीन दलसितको वार्ताको औचित्य भने समाप्त नभएको सो वार्ता टोलीले स्पष्ट पारेको छ ।
नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)का शीर्ष नेतासहित ती दलबाट गठित वार्ता टोली र मोर्चाका वार्ता टोलिबीच सोमबार साँझ प्रधानमन्त्री निवासमा भएको वार्ता क्रममा भएका कुराकानीबाट आफूहरु तीन दलद्वारा गठित वार्ता टोलीसित वार्तामा नबस्ने निर्णयमा पुगेको तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “तीन दलका शीर्ष नेता र ती दलका वार्ता टोली सोमबारको वार्तामा जुन भाव र शैलीमा प्रस्तुत भए, जे कुरा त्यहाँ राखे, यसले हामीलाई नराम्री मन दुखाउने काम ग-यो । यसैले उनीहरुसित हामीहरु वार्तामा नबस्ने निर्णयमा पुग्यौँ । ”
मोर्चाको आह्वानमा तराई–मधेसमा जारी आन्दोलनका ११ बुँदे माग र व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधनमा ती मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर तीन दलले एक एक जना रहने गरी कार्यदल गठन गरेका थिए । सो कार्यदलमा काँग्रेसका नेता महेश आचार्य, एमालेका उपाध्यक्ष भीमबहादुर रावल र एमाओवादीका महासचिव कृष्णबहादुर महरा हुनुहुन्छ । यसैगरी मोर्चाका तर्फबाट तमालोपाका उपाध्यक्ष त्रिपाठी, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ लगायत हुनुहुन्छ ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष त्रिपाठीले कार्यदल तहमा मोर्चाले उठान गरेका भाषा, नागरिकता, न्यायालय, राज्यको पुनःसंरचना, सीमाङ्कन जस्ता महत्वपूर्ण विषयमा अन्तिम चरणमा पुगिसकेको तर तीन दलका शीर्ष तहमा पुग्दा सहमतिमा पुग्न लागेका ती विषय एकाएक भाँडिएको आरोप लगाउनुभयो ।
“सीमाङ्कनका लागि राजनीतिक संयन्त्र गठन गर्ने र यसको वैधता र विश्वास मात्र खोजिरहेका थियौँ, यहीमा मात्र कुरा मिल्न बाँकी थियो”– उहाँले भन्नुभयो ।
उपाध्यक्ष त्रिपाठीले अबको वार्ता शीर्ष तहमै हुने र आफूहरु वार्तामा नजाने जानकारी दिनुभयो । मोर्चाका तर्फबाट वार्ता टोलीका सदस्य कर्णले आफूहरुले संविधान संशोधन मार्फत नै समस्याको समाधान खोजिरहेको तर तीन दल यसमा लचक देखिएन भन्नुभयो । उहाँले अब समस्याको समाधान शीर्ष तहले नै खोज्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.