वार्ताका लागि मधेसी मोर्चा गम्भीर देखिएन : उपप्रम रावल

0

विराटनगर । उपप्रधानमन्त्री एवम् नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मुलुकको संविधान प्रगतिशील र अग्रगामी रहनुका साथै दक्षिण एसियाका कुनै मुलुकको संविधानभन्दा कम अधिकार सम्पन्न नरहेको बताउनुभएको छ । नेकपा (एमाले) मोरङद्वारा आज विराटनगरमा आयोजित ‘संविधानको घोषणा ऐतिहासिक उपलब्धि, अबको अभिभारा राष्ट्रिय एकता, सुदृढीकरण र समृद्धि’ कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।
मुलुकका सबै वर्ग, समुदाय, धर्म, संस्कृतिका सभासद्को सहभागितामा बनाइएको यो संविधानमा सबैको भावना समेटिएको स्पष्ट पार्दै उहाँले दलित, मधेसी, आदिवासी, जानजाति, उत्पीडित, महिला र पिछडिएको क्षेत्रका लागि आयोगको व्यवस्था गरिएको बताउनुभयो ।
संविधान संशोधनको प्रस्तावलाई अझ बढी लम्ब्याउन नहुने भएकाले यस विषयमा नेपाली काँग्रेससँग वार्ता भइसकेको र मधेसी मोर्चालाई समेत प्रस्ताव पारित गराउन भूमिका निर्वाहका लागि आग्रह गरिएको उहाँले बताउनुभयो ।
पार्टीका उपाध्यक्षसमेत रहनुभएका उपप्रधान र रक्षामन्त्री रावलले विभिन्न समुदायको प्रतिनिधित्व गरिएको संविधानसभाका करिब ९० प्रतिशत सभासद्को समर्थनमा जारी भएका संविधानको विषयमा भ्रम फैलाइएकाले यसलाई चिर्न पार्टीका कार्यकर्ताहरुलाई घरदैलो अभियानलाई सफलताका साथ सम्पन्न गर्न जोड दिनुभयो ।
मधेसी मोर्चासँग वार्ताका लागि गठित कार्यदलका सदस्यसमेत रहनुभएका उहाँले सरकार निरन्तर रुपले मधेसको समस्या समाधान गर्नका लागिपरेको भए पनि बरु मधेसी मोर्चा नै गम्भीर नदेखिएको विचार व्यक्त गर्नुभयो ।
उहाँले संसारको कुनै पनि मुलुकमा सेना र सुरक्षा निकायमा समावेशीको नाउँमा सामूहिक रुपमा भर्ना नभएको अवस्थामा यस्ता अनर्गल माग राखेर जनतालाई मधेसी मोर्चाले भ्रमित गर्ने कार्य गरेको टिप्पणी गर्नुभयो ।
सोही अवसरमा उहाँले संविधानका साथै पार्टीको सङ्गठनको सम्बन्धमा जानकारी गराउनका लागि मोरङको नौवटै संसदीय क्षेत्रमा पठाइएका कार्यकर्ताको टोलीलाई झोला हस्तान्तरण गर्नुभयो । नेकपा (एमाले) मोरङका अध्यक्ष महेश रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांसद ऋषिकेश पोखरेल, पार्टीका केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फे, वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठलगायतले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.