डाक्टरलाई सवैले विश्वास गरेका छन्

0

डाक्टरहरु पैसाका पछाडि लागे

अहिले सबैलाई पैसा चाहिएको छ । कति डाक्टरले लगानी गरेर आफ्नै हस्पिटल बनाए । ऋण लिएका छन् । पैसा त तिर्नुपर्ने हुन्छ । डाक्टरहरु पाइँदैनन् । नर्स पाइँदैनन् । दिनभरि टेन्सन । उपकरण ल्याउनुपर्‍यो, एक-एक उपकरणको ७० लाख, २ करोड, ३ करोडसम्म पर्छ ।

मैले त्यहाँ गएर तपाई लुगा खोलेर सुत्नुहोस् भन्यो भने उनी सुत्छिन् । किन ? किनभने उसले डाक्टरलाई दिएको इज्जत हो यो ।

उपकरण ल्याउँछन् । ग्राण्ड हस्पिटल भनेर विज्ञापन गर्छन् । तर, बिरामीको चाप त आउँदैन । नआएपछि अब के हुन्छ ? त्यो डाक्टर, जसको दिमाग बिरामीमा जानुपर्ने, स्वच्छ मनिस्थिति हुनुपर्नेमा उसको दिमाग जुनबेला पनि पैसा कसरी उठाऔं, कसरी तिरौंमात्रै होइन, पैसा कसरी कमाऔं भन्नेतिर जान्छ । मेरो घरमा स्विमिङ पुल छ कि छैन, कतिवटा पजेरो मोटर छ, छिमेकीभन्दा धनी छु कि छैन, मेरी श्रीमतीको कति गहना छ, म विदेशको टि्रप कति लगाउँछु यो सबैतिर हाम्रो सिको भयो ।

डाक्टरहरुले अस्पतालमा असाध्यै बढ्ता लगानी गरे, त्यो उठाउनुपर्‍यो । अर्कातिर सेवाको भावना धेरै-धेरै घट्यो र पैसै कमाउनेतिर लागे । सोसाइटी जस्तो, डाक्टरहरु उस्तै । र, डाक्टरजस्तो, सोसाइटी उस्तै । यो त परस्पर कुरो हो ।

मैले डाक्टर भएर राम्रोसँग बिरामीलाई उपचार गरें, व्यवहार राम्रो गरें, उसलाई सन्तुलित हिसाबले हेरें, उसको मैले घाँटी रेटिँन र उसलाई मैले धेरै खर्च गराइँन भनेदेखि यो सोसाइटी पनि त एक कान, दुई कान गर्दै राम्रो हुन्छ नि ।

डाक्टरहरु पढे लेखेका हुन्छन् । कोही पनि डाक्टर खान नपाउने हुँदैनन् । डाक्टर भएका मध्ये बाबुआमाले राम्रोसँग खान लाउन दिएकै मान्छेहरु पुगेका छन् । गरीबको त यहाँ ठाउँ नै छैन ।

डाक्टर खाए लाएको परिवारबाट आएको छ । उ झन खाए लाएको भएको छ । ऊ सबैभन्दा सम्वेदनशील हुनुपर्ने हो । सभ्य पनि हुनुपर्ने हो । मलाई खान पुगेको छ, मेरो सम्पत्ति छ भनेपछि मैले अब समाजलाई के दिऔं भनेर सोच्नुपर्छ । राष्ट्रलाई के दिऔं भनेर सोच्नुपर्छ । फुत्त बेलायत भागौं, फुत्त अमेरिका भागौं भनेर आफ्नोमात्रै स्वार्थ डाक्टरले हेर्न भएन ।

डाक्टरमा अलिकति समाजसेवा, राष्ट्र सेवा, जनताको सेवाको भावना आएन भने डाक्टरी पेशामा सम्वेदनशीलता रहँदैन ।

Sundar-mani-2

नेताले सुत् भन्दा कुनै केटी सुत्छे ?

डाक्टरी पेशा भनेको सबभन्दा सम्वेदनशील हो । शिक्षक केही मात्रामा सम्वेदनशील हुनुपर्छ । वकिलले त सम्वेदनशील हुने कुरै छैन । तर, डाक्टर भनेको वर्ग कस्तो हो भनेदेखि जनताले अति रेस्पेक्ट गर्ने पेशा हो ।

उदाहरणका लागि मेरो क्लिनिकमा कुनै स्वास्नीमान्छे आउँछिन् । मैले त्यहाँ गएर तपाई लुगा खोलेर सुत्नुहोस् भन्यो भने उनी सुत्छिन् । जस्ती केटी भए पनि, वयोवृद्धा भए पनि, अधबैंसे भए पनि लुगा खोलेर सुत्न तयार हुन्छिन् । किन ? किनभने उसले डाक्टरलाई दिएको इज्जत हो यो ।

डाक्टरको विश्वासमा उसलाई थाहा छ कि म त्यहाँ उसलाई केही गर्दिँन । मेरो मनमा उसलाई उपचार गर्ने मात्रै हुन्छ । हुन त म साथमा अर्को मान्छे पनि राख्छु । तर, मैले उनलाई लुगा खोल्न लगाएँ वा छामें भने उनले एकचोटि चाइँचुइँ गर्दिनन् । किन त ?

हामी डाक्टरहरुलाई जनताले यत्रो भरोसा गरेका छन् । यो विश्वास कम हो ? आज कुनै पोलिटिसियनले कुनै केटीलाई सुत् भन्दा सुत्छे ? सुत्छे त्यो केटी ? आज कुनै अरु पेशाको मान्छेलाई तपाई मेरो कोठामा आएर सुत्नोस् भन्दा कोही सुत्छ ?

यसबाट बुझ्नोस् कि डाक्टरहरुलाई जनताले के विचार गरेका छन् ? कुन विचारमा हिँडाएका छन् ? डाक्टरमाथिको कस्तो विश्वास हो बिरामीहरुको ? डाक्टरले यसको गुन अलिकति पनि नफर्काउने बिरामीलाई ? अलिकति पनि नफर्काउने ? यत्ति पनि नफर्काउने ?

डाक्टरहरुले समाजलाई यही इज्जतले, यही नजरले हेर्नुपर्छ । विरामीलाई बढ्ता पैसा खर्च गराउने, उसलाई ठगी गर्ने, ऊसँग पैसा चुस्ने गर्नुहुँदैन

कहिलेकाँहि डाक्टरहरुले नचाहिने काम पनि गरेका छन् । कहिलेकाँहि बिरामीले पनि त्यस्तो काम गरेका छन् । इण्डियामा बस्दाखेरि मलाई थाहा छ, जवान केटीहरु डाक्टर कहाँ आउने, भित्र गएर डाक्टरले जाँच्न, छाम्न थालेपछि चिच्याइदिने । मलाई डाक्टरले हातपात गर्‍यो भनिदिने । यस्तोमा डाक्टरविरुद्ध कयौं मुद्दासमेत चलेको छ । भारतमा कतिचोटि यस्ता केसहरु भएका छन् । मलाई डाक्टरले बलात्कार गर्न खोज्यो भनेर मुद्दा चल्ने गरेका छन् । तर, त्यो थोरै मात्रामा छ ।

हामी डाक्टरहरुले के बुझौं भने हामीलाई समाजले कत्रो कत्रो इज्जत दियो, जुन कुराले गर्दा आज हामीले कुनै महिलामाथि जे गर्दा पनि उसले केही बोल्दिन । यत्रो इज्जत कुनचाँहि पेशाले पाउँछ ?

त्यसैले हामी डाक्टरहरुले समाजलाई यही इज्जतले, यही नजरले हेर्नुपर्छ । विरामीलाई बढ्ता पैसा खर्च गराउने, उसलाई ठगी गर्ने, ऊसँग पैसा चुस्ने गर्नुहुँदैन ।

डाक्टरको शुल्क

अहिले सरकारले भर्खरै डाक्टरको फी वर्गअनुसार ३ सय देखि ४५० सम्म लिन पाउने तोकेको छ । त्यो हिसाबदले मैले ४ सय ९० लिन पाउँछु । तर, मैले २ सय रुपैयाँ मात्रै लिने गरेको छु । अरुले ५ सयको हाराहारीमा लिइरहेका छन् । अहिले मैले एमबीबीएस डाक्टरको भन्दा पनि मा पैसामा बिरामीलाई हेरिरहेको छु । बिरामीले मलाई डाक्टरसा’प तपाईँले किन यति थोरै पैसा लिएको भनेर सोध्छन् ।

मेरो १५ रुपैयाँ थियो, ठूलाको २५ थियो । वीरेन्द्रले १५ बाट घटाएर ७ रुपैयाँ पुर्‍याइदिए

हाम्रो डाक्टरी पेशामा त उहिले चार्जको कुरै थिएन । औषधि उपचार गर्ने, उसले खुशीले जे दिन्छ, त्यही लिने । तर, समाज पनि यस्तो भइदियो कि डाक्टरलाई केही पनि नदिने । यसले गर्दा हामीले चार्ज लिनुपर्‍यो । तर, मैले बिरामीसँग ५ सय लिने क्राइटेरिया के हो ? कोही दिन नसक्ने अवस्थामा छ । अर्को करोडपति छ । उसँग ५ सय मात्रै किन ? यसले त ज्यान बचाए वापत पाँच लाख पनि दिन सक्छ । यसबाट बुझ्नोस्, हामी डाक्टरको क्राइटेरिया छैन ।

हामीले आफ्नो विवेकले पैसा लिनुपर्ने हो । तर, हाम्रो के भइरहेको छ भने सकेसम्म छिटो पैसा बनाऔं । दिनको ५० जना बिरामी हेर, हरेकसँग पाँच/पाँच सय लेऊ, कति पैसा हुन्छ ? यो हिसाबले डाक्टरले कति कर तिर्छ ? यो मलाई बताउनोस् त । यो पनि हेर्नुपर्‍यो नि ।

राजा वीरेन्द्रले शुल्क घटाए

एउटा इन्टे्रस्टिङ्ग कुरा छ । राजा वीरेन्द्र भर्खरै राजगद्दीमा बसेका थिए । उनी भर्खरका नौजवान थिए । पहिलो क्याबिनेटबाट उनले लोकपिय निर्णय गर्नुपर्ने थियो । उनले पहिलो निर्णय के गरे, तपाईलाई थाहा छ ? अब उप्रान्त डाक्टरहरुले आफ्नो क्लिनिकमा सात रुपैयाँ भन्दा बढी लिन पाइँदैन । त्यो आजसम्म राजपत्रमा छ ।

त्यसबेला डाक्टरको फी २५ रुपैयाँ थियो । मेरो १५ रुपैयाँ थियो, ठूलाको २५ थियो । वीरेन्द्रले १५ बाट घटाएर ७ रुपैयाँ पुर्‍याइदिए । त्यो बेला एक दुई जना सिनियर डाक्टरले हामी यति पैसामा काम गर्न सक्दैनौं भनेर क्लिनिक बन्द गरिदिए । पछि फेरि चलाए ।

परिवर्तन न समाजमा आयो, न डाक्टरमा

आज हामी डाक्टरले जनताको पकेटमा कतिवटा प्वाल पार्ने ? यो महंगो, त्यो महंगो । डाक्टरले भन्न पाउँदैन कि यति नगरे मैले खान पाउँदिन । किनभने डाक्टरले खान पाएको छ । ऊ खान पाउने परिवारबाटै आएको छ । उसले वालबच्चालाई पनि बढाउन सकेको छ ।

मेरो भनाइ के हो भने हामी डाक्टरहरुमा अलि बढ्ता समाज सेवाप्रति ध्यान पुर्‍याउनुपर्‍यो । राष्ट्रप्रति ध्यान दिनैपर्‍यो । फुत्त फुत्त बेलायत अमेरिकातिर भाग्न भएन । नेपालमा डाक्टरहरुको जरुरी छ । र, हामीले बिरामीसँग जुन पैसा लिन्छौं, त्यसमा हामीले अलिकति विचार गर्नुपर्‍यो ।

तर, यो काम कसले गर्ने ? सरकारमा जसले तोक्छन्, तिनले उनै डाक्टरसँग सल्लाह लिन्छन् । जनतासँग सोधेर पो गर्ने हो कि ? जनताले अहँ, १० रुपैयाँ दिन्छौं भन्लान् । भनेपछि समाज जसरी विकृतितिर गयो, लुट्नेतिर गयो, त्यो हामी डाक्टरहरुमा पनि आयो । समाजले हामीलाई लुट्छ, हामी समाजलाई लुट्छौं भन्नेतिर गइराखेको छ ।

समाजमा परिवर्तन आउनुपर्‍यो । अलिकति दायित्ववोध हुनुपर्‍यो । हक सबैलाई थाहा छ । अधिकार सबैलाई थाहा छ । तर, मेरो कर्तव्य के भन्नेकुरा न समाजमा आइदियो, न राजनीतिक पार्टीमा आइदियो, न डाक्टरमा आइदियो ।

साभार: अनलाइन पत्रिका

Leave A Reply

Your email address will not be published.